बालअधिकारको प्रत्याभूति बिना ‘नयाँ विश्व’ सम्भव नभएको अधिकारकर्मीहरूले बताएका छन् । ‘स्वतन्त्रताका लागि उठौं, नयाँ विश्व बनाउँ” भन्ने नारासहित काठमाडौमा आयोजित विश्व सामाजिक मञ्चको आइतबार भएको ग्लोबल एसेम्बली अन चाइल्ड राइट्स कार्यक्रममा बोल्दै अधिकारकर्मीहरूले यस्तो धारणा राखेका हुन् ।

कन्सोर्टियम नेपालको संयोजनमा भएको उक्त सत्रमा बोल्दै विभिन्न वक्ताहरूले बालविवाह, भोकमरी, युद्ध, आप्रवासन, बेचबिखन, बाढीपहिरो, यौन व्यवसायलगायत क्षेत्रमा बालबालिका र किशोरकिशोरीलाई लगाउनु दुखद भएको बताए ।
कार्यक्रममा अनलाइन मन्तव्य राख्दै युएन सीआरसी कमिटी अध्यक्ष प्रो.आन स्केल्टनले यस्ता सामाजिक भेलाहरूमा विश्व चुनौतिका बारेमा विचार विमर्श र छलफलले समस्याका सामधान गर्ने उपाय खोजी हुने बताइन् ।

सभालाई सम्बोधन गर्दै युएन सीआरसी कमिटी उपाध्यक्ष रिन्चेन चोपेलले आफू यो सम्मेलनमा ज्ञान बाँड्न आएको नभएर नेपालीले अनेकौं चुनौतिका बाबजुद पनि यस प्रकारको आन्दोलनमार्फत् आफ्नो जीवनमा ल्याएको परिवर्तन र संघर्षलाई नजिकबाट नियाल्दै त्यसबाट अभिप्रेरित हुन नेपाल आएको बताए ।

डिकेए अस्ट्रियाकी इन्ग्रेड पिन्टरेचले बालबालिका लागि एउटा न्यायमूलक विश्व स्थापना गर्न आवश्यक रहेको बताइन् । विश्वमा बिग्रँदै गएको वातावरण र जलवायु परिवर्तनका असरले विश्वब्यापी रूपमा बालबालिका र युवाको जीवनमा पारेका प्रभावका मुद्दाहरूलाई सम्बोधन गर्नैपर्ने बताइन् ।

वरिष्ठ बाल अधिकारकर्मी तारक धितालले बालबालिका र किशोरकिशोरीको अधिकारका लागि परिर्वतन सहितको दबाब सिर्जना गर्नु आवश्यक रहेको धारणा राखे । यस्ता कार्यक्रम बालबालिका र किशोरकिशोरीका अधिकार र उनीहरूको न्यायका लागि फलदायी हुने उनले बताए ।

अधिकारकर्मी गौरी प्रधानले बालअधिकार मानव अधिकार नै भएपनि मानवअधिकारका सवालले बालबालिकाका समस्यालाई सम्बोधन गर्न नसकेको बताए । उनले बालबालिकाका सबालमा बालमैत्री अलग्गै कानुन आवश्यक रहेको बताए ।

अधिकारकर्मी डा. कुन्दन अर्यालले बालअधिकारको प्रत्याभूतिका लागि बाल सुरक्षा र बाल सहभागितामा जोड दिनु पर्ने बताए । उनले अहिले पनि विद्यालय शान्ति क्षेत्र अभियानको सार्थकता रहेको बताउँदै बालअधिकार प्रत्याभूतिका लागि भयरहित वातावरणको सुनिश्चितता गर्नु पर्ने बताए ।

कन्सोर्टियम नेपालका अध्यक्ष सन्तोष महर्जनले बालबालिकाका लागि न्यायपूर्ण विश्व बनाउनु पर्ने बताए । ‘हामीले फरक विश्व बनाउने भनेका होइनौं । सबै एकजुट भएर लाग्यौं भने यही विश्वलाई न्यायपूर्ण विश्व बनाउन सकिन्छ भनेका हौं,’ उनले भने ।

कार्यक्रममा बाल अभियन्ता मुस्कान खातुन, शिरमाया पुन मगर, अभिनय चौहानलगायतले आ–आफ्ना अनुभव सुनाएका थिए ।
आयोजकहरूका अनुसार गैरसरकारी संस्था महासंघले संयोजन गरेको यो सम्मेलनमा विश्वका विभिन्न ९१ मुलुकबाट सहभागिता छ । नेपाली र अन्तर्राष्ट्रिय गरी करिव १२ सय संघसंस्था कार्यक्रममा सहभागी छन् ।

नानीबाबुअनलाईन
थप जानकारी