एकादेशमा एक जना राजा थिए उनी फूलहरू एकदमै मन पराउँथे । उनले आफ्नो बगैंचामा थरिथरिका फूलहरू लगाएका थिए । उनी ती फूलहरूलाई आफैं स्याहार गर्थे । फूलसँग खेल्थे, फूलहरूसँगै रमाउथे । उनी एक असल शासक थिए । प्रजालाई आफ्नो सन्तानजस्तै माया गर्थे । जनतासँग एकदमै घुलमिल हुन्थे । आफैं जनताको घरसम्म गएर उनीहरूका दुःख–सुख सुन्थे ।
जनता पनि आफ्नो राजालाई भेट्न बिभिन्न ठाउँका थरिथरिका फूल लिएर आउने गर्थे । यसो गर्दा राजाका बगैंचामा आफ्ना देशका सबै फूलहरू थिए । राजा ती सबै फूल हेरेर मुस्कुराउँथे । फूलहरूलाई लिएर उनी कविता लेख्थे । गीत गुनगुनाउँथे ।
एकदिन राजा विदेश यात्रामा निस्कने भए । राजाले धेरै देशको यात्रा गरे । अनि विदेशमा पाइने राम्राराम्रा फूलका बीउहरू लिएर उनी आफ्नो देश फर्के । उनले आफ्नो फूलबारीमा ती विदेशी फूलका बीउहरू रोपे । बिदेशी फूलहरू अति नै मन परेकोले उनी अब स्वदेशी फूललाई भन्दा तिनीहरूलाई धेरै समय दिन थाले ।
विदेशी फूलहरू उम्रेको केही समय पछाडि भकाभक मर्न थाले । यो देखेर राजा अत्यन्तै दुःखी भए । एकएक गरेर ती सबै फूलहरू मरेर सकिए । ती फूलहरू मरेपछि राजा धेरै दुःखी भए । उनले खाना खानसमेत छोडे । राजा बिरामी नै भए । रानीले फेरि पनि विदेशबाट फूलहरू ल्याउन भनिन् र रोप्न लगाइन् । तर ती फूलहरू पनि त्यस्तै भएर मरे । कति सम्झाउँदा पनि राजा एकोहोरो भएर मात्र बस्न थाले ।
प्यारा राजाको यो हालतले जनता पनि एकदमै निराश भए । उनीहरूले पाएसम्म खोजेर धेरै थरिका फूलहरू राजालाई लगिदिए । तर राजा विदेशी फूल चाहन्थे । दिनदिनै राजाको स्वास्थ्य बिग्रंदै गयो । यो देखेर रानीले एउटा उपाय लगाइन् । उनले आफ्ना सहयोगीलाई बोलाइन् । एउटा माछा सहितको एक बाल्टी पानी र एउटा कमिलो ल्याउन भनिन् ।
राजाको अगाडि त्यो पानी, माछा र कमिला राख्न लगाइन् । अनि माछालाई पानीबाट निकालिन् । माछा केही समयमा छट्पटाउँदै मर्याे । फेरि त्यही पानीमा उनले कमिलालाई राखिन् । त्यो पनि मर्याे । यो सबै नियालिरहेका राजालाई रानीले भनिन्, ‘हेर्नुस् माछा र कमिला दुबैले आफूले बाँच्न सक्ने बातावरण पाएनन् । यी दुबैलाई पानी त चाहिन्छ । तर कमिलो पानीमा धेरैबेर बस्न सक्तैन । माछा पानी नपाए धेरैबेर बाँच्न सक्दैन । त्यस्तै हजूरले ल्याएका फूलहरूलाई पनि यहाँको बातावरण मिलेन । हावापानी मिलेन ।’
रानीले त्यसपछि पनि राजालाई संझाइन् र भनिन्, ‘आफूसँग भएको कुरामा खुशी हुँदा संसार कति रमाइलो थियो । हजूरले अरुको कुरामा मोह गर्दा कति दुःख पाउनु भयो । हामीलाई पनि दुःखी बनाउनु भयो । हामी सबै आफूसँग जे छ त्यसैमा रमाउन सक्नु पर्छ । हेर्नुस् त हजूरले रोपेका आफ्नो देशका फूलहरू बाहिर कति मुस्कुराइ रहेका छन् ।
राजा बिस्तारै उठेर बाहिर हेरे । फूलहरू राजालाई हेरेर मुस्कुराइरहेका थिए । त्यो देखेर राजा पनि मुस्कुराए । राजा मुस्कुराएको देखेर रानी पनि धेरै खुशी भइन् । अब राजा पहिलेकै अवस्थामा फर्किए । आफ्ना प्रिय राजा ठिक भएको खबरले जनता पनि खुशी भए । राज्यभर खुशियाली छायो ।
पुनर्कथन : यमुना पराजुली अधिकारी
प्रतिक्रिया दिनुहोस्