म सानो हुँदा बदमास थिएँ । हुन त अहिले पनि खासै ज्ञानी होईन । तर सानोमा धेरै नै बदमास थिएँ । तिनै बदमासीमध्ये एउटा रमाइलो घटना सुनाउँछु है ।

तपाईंहरूलाई अचम्म लाग्न सक्छ । म सानो हुँदा अहिलेजस्तो मोबाइल फोन थिएन । न त टिभी नै । हामी घर बाहिर साथीहरू जम्मा भएर बिभिन्न खेल खेल्थ्यौं । लुकामारी, भाडाकुटी, पुतली, छोइडुम आदि । खाना खान आउ भनेर धेरै पटक बोलएपछि मात्रै हामी एक अर्कालाई छोडेर घरभित्र पस्थ्यौं । अनि छिटो छिटो खाएर तुरुन्तै साथीहरूसित खेल्न दगुरिहाल्थ्यौं ।

मेरो मुमा बिद्यालयमा शिक्षिका हुनुहुन्थ्यो । बुवा विद्युत् प्राधिकारणमा ईन्जिनियर । मेरा आफ्नै दाजुभाइ वा दिदीबहिनी थिएनन् । मुमा बुवा दुबै काममा जानु पर्ने भएकाले मलाई हेरचाह गर्न घरमा एकजना दिदी हुनुहुन्थ्यो । एक दिन मुमा बुवा काममा जानु भएको थियो । त्यो दिन किन हो कुन्नि, म स्कुल गएकी थिइन । सायद सन्चो थिएन कि । घरमा मलाई हेर्ने दिदी काममा व्यस्त हुनुहुन्थ्यो । म मुमा बुवाको कोठामा केही खोज्दै गएँ । भित्ताको एउटा किलामा आमाको रातो ब्याग झुन्डिएको रहेछ । म औधी खुशी भएँ । किनभने त्यो ब्यागमा आमाले पैसा राख्नुहुन्थ्यो ।

पैसा चोर्नु नराम्रो बानी हो । यो कुरा मलाई थाहा थियो । त्यसअघि मैले कहिल्यै पैसा चोरेको पनि थिइन । तर त्यो दिन रातो ब्यागले मलाई बोलाईरहे जस्तै लाग्यो । तल उभिएर मैले ब्यागलाई हेरें । ब्याग अलि माथी थियो । म सानी । एक–दुईपल्ट उफ्रेर ब्याग तान्ने कोसिस गरें । तर मेरो हात ब्यागसम्म पुग्दै पुगेन । मैले एउटा उपाय सोचें । पहिले गएर दिदी कता हुनुहुन्छ हेरें । उहाँ भान्साको काममै व्यस्त हुनुहुन्थ्यो । म ढुक्क भएर मुमा बुवाको कोठामा आएँ । ढोका बन्द गरें । त्यसपछि नजिकैको एउटा मुडा बोकेर ब्याग झुन्डिएको किलाभन्दा तल राखें । अनि मुडामा चडेर ब्यागलाई बल्लतल्ल झारें ।

मेरो मुटु ढुक् ढुक् गरिरहेको थियो । यति जोरसित ढुक् ढुक् गरेको थियो कि अर्को कोठामा दिदीले समेत सुन्नु हुन्छ जस्तै लाग्यो । हात पनि कामिरहेका थिए । मैले ब्याग खोलेर हेरें । ओहो ! त्यहाँ त कति धेरै पैसा ! म त झन्डै खुसीले मुडाबाट खसेको ! सबै त मैले चिन्नै सकिन । गन्न पनि आएन । तर त्यो सबैमा एउटा पाँच रुपैँयाको नोट पनि थियो ।

हुन त अहिले तपाईंहरूलाई लाग्ला– पाँच रुपैँया मै तेत्रो खुसी ? तर यो अहिलेको कुरा होईन नि । त्यो बेलाको कुरा जतिबेला टिभी र मोबाइल थिएन । त्यो बेला पाँच रुपैँया भनेको अहिलेको पाँच सय जस्तै थियो । अनि म सानो मान्छेले पाँच सय रुपैयाँ पाउँदा भएन त खुसी ? तर चोरीको पैसा भएकाले मनमा खुसी मात्र होइन डर पनि थियो । मैले काम्दै पैसा खल्तीमा लुकाएँ । अनि कोठाबाट निस्किहालें ।

पैसा त चोरें तर अब तेत्रो पैसाले गर्ने के ? दिदीलाई भन्न भएन । म घर बाहिर निस्कें । मेरो हात खल्ती भित्रै थियो । खल्ती भित्रको पैसा मैले च्याप्पै समातेकी थिएँ । कतै हराइहाल्ला कि भनेर । यता उता हेरें । अलि परको घर बाहिर मेरो साथी भावना रहिछिन् । उ पनि स्कुल नगएकी । मैले उनलाई बोलाएर भने, ‘चकलेट खान्छौ ? मुमाले पैसा दिनु भएको छ । जाउँ किन्न ।’

अब चकलेटपाउँदा नखाने को होला ? उनले ‘हुन्छ’ भनिन् ।

हामी नजिकैको पसलमा गयौं ।

ओहो ! पसलमा त कति धेरै चकलेट । म त कुन खाउँ कुन खाउँ भयो ।

मैले सोचें– पाँच रुपैयाँको एउटा चिज किन्नु भन्दा एक एक रुपैयाँको धेरै चकलेट किन्नु फाइदा हुन्छ ।

तपाईंहरूलाई लाग्यो होला– एक रुपैयाँ ? यस्तो पनि हुन्छ ? तर त्यो बेला त्यस्तै थियो । एक रुपैयाँको आधा एक मोहर पनि हुन्थ्यो । एक मोहोरको पनि आधा एक सुका हुन्थ्यो । मैले एक एक मोहोरको गरेर ओहो नि कति धेरै चकलेट किनें । त्यो बेला पसलले झोला दिंदैनथे । हामीले पनि झोला लगेका थिएनौ । त्यसैले मैले आफ्नो फ्रकमै सबै चकलेट लिएँ । अनि खुसी हुँदै हामी त्यहाँबाट घरतिर लाग्यौं ।

घर फर्किंदै गर्दा बाटोमा टाढैबाट मैले मुमालाई हामीतिर आउँदै गरेको देखें । ओहो ! मेरो त मुटु ढुक् ढुक् गर्न लाग्यो । म धेरै डराएँ । तेतिका चकलेट देखेर पक्कै पनि सोध्नुहुन्छ होला कताबाट ल्याएको भनेर । अनि मैले के भन्ने ? मेरो बदमास दिमाग फटाफट चल्यो । मैले तत्काल सबै चकलेट भावनालाई दिएँ र भने, ‘अहिले मेरो मुमाले सोद्ध्दा यो तिमीले किनेको भन्नू है । सबै चकलेट अहिले तिमी नै घर लैजाऊ । पछि म लिन आउँछु । तर याद राख मैले सबै चकलेट गनेको छु । एउटा पनि नखानू ।’

भावनाले सबै चकलेट आफ्नो फ्रकमा राखिन् । म ढुक्क भएर हाँस्दै मुमातिर गएँ ।

‘आन्टी नमस्ते’, भावनाले मेरो मुमालाई देख्ने बित्तिकै भनिन् । उनी पनि अलि अलि डरएकै थिइन् ।

‘नमस्ते’ मेरो मुमाले भन्नु भयो । उहाँले अरु कुरा सोध्नु अघि नै मैले छिटो छिटो भने, ‘भावनाले कति धेरै चकलेट किनेको आज । म उसित पसलसम्म साथी गएको । हुन त मैले उसलाई यति धेरै चकलेट खान हुन्न, दाँतमा किरा लाग्छ भनेको हो, तर उसले माने पो ।’

भावनाले मेरो कुरा अचम्म मानेर सुनिन् । मुमाले मेरो कुरामा कुनै प्रतिक्रिया जनाउनु भएन । हामी सँगै घर फर्कियौं ।

म मनमनै डराइरहेकी थिएँ । एउटा मनले भन्यो, ‘मेरो कुरा मुमाले पत्याउनु भयो । मेरो बदमासी थाहा पाउनु भएन । अर्कोतिर सोच्थें– पत्याउनु भएको भए त केही बोल्नु पर्ने । अनुहार हेर्दा त पत्याएजस्तो पटक्कै लागेन । बाटोभरि मन तुलबुल तुलबुल भइरह¥यो ।

घर पुगेपछि मुमाले भावनालाई भन्नुभयो, ‘ल अब घर जाउ है ।’ उनी घरतिर लागिन् । त्यसपछि मुमाले मलाई भान्सा कोठामा लैजानुभयो । पाउरोटी र दूध खान दिनुभयो । म के के कुराहरू भन्दै थिएँ । मुमा भने चुपचाप हुनुहुन्थ्यो । मलाई कुरा बुझ्न धेरै गाह्रो भैसकेको थियो । मुमा रिसाएको भए खान नदिनु पर्ने, नरिसाएको भए किन केही बोल्नु भएकै छैन । अनुहार पनि रिसाएजस्तै छ । पाउरोटी र दूध खाइसकेपसिछ उहाँले मलाई भित्र कोठामा लानु भयो ।

लौ ! मैले त हतारमा ब्याग ओछ्यानमा खुलै पो छोडेको रहेछु । मुडा पनि त्यहीँ तल थियो ।

‘यो ब्यागको पैसा खोइ ?’ मुमाले मलाई सोध्नु भयो ।

मैले संसारकै मायालु र छक्क परेको अनुहार पार्दै भनें, ‘ओहो त्यो भावनाले त हजुरकै पैसा चोरेर पो चकलेट किनेको रहेछ ।’

त्यति सुन्ने बित्तिकै मुमाले मेरो हात समातेर घर पछाडिको बारिमा लैजानुभयो । अनि त्यहाँ भएको ठूलो आँपको रूखमा मलाई बाँधिदिनुभयो ।
सानोमा कृष्ण भगवान्ले दही चोरेर खाँदा यशोदाले उहाँलाई यसरी नै बाँधेको कथा मुमाले सुनाउनु भएको थियो । तर त्यो दिन म कथामा होइन, साँच्चिकै बाँधिएको थिएँ ।

‘जुन बेला तिमीलाई पैसा खासमा कसले चोरेको हो भन्ने कुरा याद आउँछ मलाई भन्नू’ यति भनेर मुमा त घर भित्र पस्नु भयो ।

मुमाको गाली खाँदा सँधै मेरो सहारा बुवा हुने गर्नु हुन्थ्यो । तर त्यो दिन बुवा पनि घरमा हुनुहुन्नथ्यो । केहीबेरमा बुवा अफिसबाट आउनु भयो । सँधैझैं उहाँ मलाई बोलाउदै घरभित्र पस्नु भयो । बुवाको स्वर सुन्ने बित्तिकै म ‘बुवा, बुवा’ भन्दै रून लागें । बुवा एकैछिनमा बाहिर आउनु भयो । ‘मेरो छोरीलाई कसले बाँध्यो ?’ भन्दै डोरी फुकाइदिनु भयो । म उहाँलाई अंगालो मारेर झनै जोड जोडसित रून लागें । उहाँले मलाई फकाउँदै भित्र लैजानु भयो ।

भित्र गएपछि बुवाले मसित सबै कुरा सोध्नु भयो । मैले पनि नढाँटि भनिदिएँ ।

‘अनि त्यसरी चोर्नु हुन्छ त ? चकलेट खान मन हुँदा सँधै मुमाले किनिदिनु भएकै छ तिमीलाई । फेरी त्यो पैसा केही कामले राख्नु भएको थियो होला । अब के गर्ने तिमी नै भन,’ बुबाले सोध्नु भयो । मैले कुरा बुझिहालें ।

‘माफी माग्छु नि त,’ मैले भनें ।

मैले गएर मुमालाई ‘सरी’ भनें ।

उहाँले भन्नुभयो, ‘अबदेखि यस्तो बदमासी नगर्नू ।’

मुमाले मलाई सम्झाउँदै काखमा राखेर माया गर्नु भयो ।

त्यसपछि मुमाले मलाई भावनाको घर लैजानुभयो । कताबाट पैसा चोरेर यत्तिका चकलेट ल्याएको भन्दै उनको मुमाले पनि उनलाई बेस्सरी गाली गर्नु भएछ । मेरो मुमाले सबै भन्नु भयो । अनि मलाई भावनाको मुमासित पनि ‘सरी’ भन्न लगाउनु भयो ।

त्यसपछि हामीलाई ‘चकलेट बाँडेर लिनू’ भन्नुभयो । अनि हामी त्यहाँबाट घर फर्कियौं ।

त्यो दिनपछि मैले कहिल्यै पैसा चोरिन ।

आशा छ तपाईंहरूले पनि चोर्नुभएको छैन होला । छ त ?