बाल कथा : एङ्ग्री बर्ड

– जितेन्द्र रसिक
सबैले खेलेको देखेर शम्भुले पनि बाबालाई गुलेली किनिदिन अनुरोध गर्‍यो। बाबाले सम्झाउँदै भने, ‘धत्, गुलेली पनि खेल्ने कुरा हो?’ उसले जिद्दी गरे। तर, शम्भुको कुरामा उनको बाबाले ध्यान दिएनन्। शम्भु निन्याउरो मुख लगाएर घरबाट बाहिरियो। पर पुगेपछि सबै साथीको हातमा मटयाङ्ग्रा र गुलेली देख्यो। बाबाले नकिनिदिएकाले रिस उठ्यो। विद्यालय जान मन लागेन। घरबाट विद्यालय नजाँदा बाबाको गाली खाने डर छ उसलाई। खाना पनि मन लागेन। आधा खाएर छाडिदियो। ‘किन पूरै नखाएको?’ आमाले सोधिन्, ‘कि सन्चो भएन?’ आमाले बडो स्नेहसाथ निधारमा हातले छामिन्। ‘केही भाको छैन मामु,’ शम्भुले भन्यो। आमालाई भन्दा गाली खाइने डर भयो उसलाई। ढाँटिदियो। टिफिन खानु भन्दै आमाले २० पैयाँको दिइन्। पैसा पाएपछि फुङ्ग हुँदै हस् आमा भन्दै हतारहतार झोला बोकेर ऊ स्कुलतिर लाग्यो। पसलमा गएर २० पैयाँको गुलेली किन्यो।

आज उनलाई विद्यालय जानै मन लागेन। बिहान गुलेली खेलिरहेका साथीहरूको गाउँमा पुग्यो। झोला साथीकै घरमा राखेर नजिकैको जंगलमा चराचुङ्गीको सिकार खेल्न हिँड्यो। विकास उसको साथी थियो। ऊ अलि खराब थियो। प्रकाश पनि विकासकै लहैलहैमा विद्यालय नै जान छोडेर दिनहुँ गुलेलीले हिर्काएर चरा माथ्र्याे। मासु पोलेर खान्थ्यो।

जंगलमा विकासले गुलेली हानेर एउटा साङलाई मारिदियो। शम्भुलाई बानी थिएन। त्यही भएर ठिक ठाउँमा लाग्दैनथ्यो। ‘चराको रगत गुलेलीमा दल न,’ प्रकाशले भन्यो, अनि पो चरा पर्छ त।’ रगत दले चरा मर्छ भन्ने अन्धविश्वास थियो बालमस्तिष्क। शम्भुले रगत दल्यो। वरिपरि रूखका बचेराहरू गुँडबाट हेर्दे आँसु झारिरहेका थिए। फेरि प्रकाशले भँगेरा मारेर ल्यायो। तीनैजना मिलेर रूखको पात जम्मा गरेर साङ र भँगेरा पोलेर खान थाले। अरू साङहरू उनीहरूको टाउको टिपौंलाझैं गरी ठुँग्न आए। उनीहरूले पालैपालो लठ्ठी लिएर धपाउन थाले। प्रकाशले गुलेलीले हान्यो। तर लागेन। तीनैजनाको दिनचर्या यसरी नै बित्दै गयो। अब विद्यालयमा कहिलेकाहीं मात्र जाने गर्न थाले। त्यसैले उनीहरू सधैं सजायको भागिदार हुन्थे। एक दिनको कुरा हो, शम्भु गुलेली लिएर एक्लै घर फर्किरहँदा बडेमानको चरा आएर उनको बाटो छेक्यो। र, भन्यो– ‘शम्भु म चराहरूको राजा। हाम्रा चराहरू तिमीले मार्न थालेका छौ रे। पोलेर खायौ रे। अनि चरा मार्दै गुलेलीमा रगत दल्छौ अरे। हो?’ चराले सोध्यो। ‘होइन,’ शम्भुले भन्यो। चराको राजाले पकेटबाट मोबाइल झिक्यो। उनीहरूले चरा पोलेर खाएको भिडियो देखाइदियो। यो देखेर शम्भु डरायो। ऊ केही बोल्नै सकेन।
शम्भु रुँदै डराएर बोल्यो, ‘मलाई केही पनि नगर चरी राजा। म यो गुलेली तिमीलाई नै दिन्छु।’ यतिखेरसम्म शम्भुलाई चराहरूले घेरिसकेका थिए। नजिकैको रूखको हाँगाबाट आवाज आयो– ‘महाराज महाराज १ मेरो आमालाई मारेर खाने त्यही हो। उसलाई नछोड्नू। मेरी आमालाई जसरी उसले पोलेर खायो त्यसकी आमा र उसलाई पनि त्यसरी खानुपर्छ।’ शम्भु डरले थुर्र काम्यो। अतालिँदै बोल्यो– ‘बिन्ती महाराज, मलाई नखाऊ। मेरी आमालाई पनि नखाऊ।’ फेरि रूखबाट बचेरा चिच्यायो। ‘यसलाई नखाए पनि यसकी आमालाई चाहिँ खानुपर्छ महाराज, उसले हाम्री आमालाई मारेर खाएपछि हामीले कति दु:ख पायौं। मेरा भाइबहिनीहरू भोकभोकै मरिसके। कति कुरा सिकाउनुहुन्थ्यो आमाले। यो त मूर्ख छ। विद्यालय नगएर हामीलाई मार्न जंगल डुलेर हिँड्छ। ब यसैलाई पनि खाइदिउँ महाराज१’ बचेराको यस्तो बिन्ती सुनेर चरी राजाले भन्यो, ‘हुन्छ, यसैलाई खाउँ।’ चरी राजा उसको टाउकोमा ठुँग्न लाग्यो। यो देखेर शम्भु चरी राजाको खुट्टा समाएर रुँदै माफी माग्यो।
चरी राजाले उसलाई भन्यो, ‘हेर, एङ्ग्री बर्ड मै हुँ। फेरि घरमा ढाँटेर विद्यालय नगई चरा मार्न गुलेली लिएर आयौ भने म तिमीलाई खाइदिन्छु।’ एकपटकलाई माफी भयो भन्दै चरी राजा उडेर गयो। शम्भुले आँखाले देखेसम्म एङ्ग्री बर्ड उडेको हेरिरहे। शम्भुले घर गएर बाबुआमालाई सबै कुरा भन्यो। चुलोमा गएर गुलेली आगोमा जलाइदियो। र, राम्रोसँग मिहिनेत गरेर पढ्न थाल्यो। उसको आनीबानीमा परिवर्तन देखेर बाबुआमा खुसी भए।
कान्तिपुर – कोपिलाबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here