पुस्तक पढ्ने बालबालिकामा बढी तेज

हामीमध्ये अधिकांशका बालबालिकालाई विद्यालयका बाहेक अन्य पुस्तक पढ्न उत्प्रेरित गर्ने बानी हुँदैन। साना नानीहरूले विद्यालयको पुस्तक पढ्नु पर्याप्त हुने र वयस्क भएपछि मात्रै अन्य पुस्तक पढ्नुपर्छ भन्ने धारणा पनि पाइन्छ, जुन गलत हो।

पाठ्यक्रम बाहिरका विविध पुस्तक पढ्ने बालबालिकाको कुनै कुरालाई ग्रहण गर्ने क्षमता बढी हुन्छ। उनीहरूको तीक्ष्णता, आत्मविश्वास र सिक्ने बानीमा पनि यसले सुधार ल्याउँछ। किताबले बालबालिकालाई जिज्ञासु बनाउँछ। यस्ता बालबालिका विद्यालयको परीक्षामा मात्रै नभएर अतिरिक्त क्रियाकलाप र सामान्य ज्ञानमा पनि अगाडि हुन्छन्। किताबसँग साक्षात्कार गर्दै हुर्किएका र सानै उमेरदेखि घरमै पढ्ने बानी भएका बालबालिकाले आविष्कारको क्षेत्रमा प्रगति गरिरहेका छन्।

अमेरिकी सामाजिक विज्ञान अनुसन्धान संस्था ‘साइन्स डाइरेक्ट’ले सन् २०११-२०१५ सम्म गरेको अध्ययनमा पुस्तकालय भएको घरमा हुर्किएका बालबालिकामा पछिसम्म पनि सिक्ने र बुझ्ने क्षमता बढी हुने देखाएको छ। ३१ वटा समुदायमा एक लाख ६० हजार व्यक्तिबीच गरिएको ‘बालबालिका, किशोरावस्था पुस्तकालय र प्रविधि’ विषयक अध्ययनमा ८० भन्दा बढी पुस्तक भएको घरका बालबालिकामा विश्वविद्यालयसम्मको पढाइ पूरा गर्ने दर पनि तुलनात्मक रूपमा बढी भएको पाइएको छ। विद्यालय शिक्षा पूरा गरेपछि मात्रै विद्यालय पाठ्यक्रमभन्दा बाहिरका पुस्तक पढ्न थाल्नेको तुलनामा ११४ भन्दा बढी पुस्तकसहित हुर्किएका बालबालिकाको सिक्ने क्षमता १७ गुणाले बढी हुने अध्ययनमा उल्लेख छ।

पुस्तकालय भएको घरमा हुर्किएका बालबालिका तुलनात्मक रूपमा बढी तीक्ष्ण, आत्मविश्वासी र विश्वविद्यालयमा समेत राम्रो प्रदर्शन गर्ने अध्ययनले देखाएको छ।

घरमा सरदर ३५० पुस्तक भएका करीब २४ प्रतिशत बालबालिका विद्यालयको पढाइपछि आविष्कारको क्षेत्रमा लागेको अध्ययनको निष्कर्ष छ। त्यस्तै, खेलकुदका साथै शारीरिक विकासमा पनि उनीहरू अगाडि देखिएका छन्। पुस्तक पढ्ने बालबालिका सम्मिलित खेलकुद क्लब तथा विद्यालयहरूले पुरस्कार जित्ने दर ७ प्रतिशतले बढी छ। त्यस्तै, पाँच वर्ष उमेर अगावै पुस्तक पढ्ने बानी भएका बालबालिकाहरू हुर्किएपछि विश्वविद्यालय तह पूरा गर्ने दर पनि २२ प्रतिशतले बढी छ। डा. जोन्ना सिकोराको नेतृत्वमा भएको अध्ययनले ३५० पुस्तक भएको घरका किशोरकिशोरीले कलेज र विश्वविद्यालयको पढाइमा पनि १४ प्रतिशत बढी गुणात्मक ज्ञान लिन्छन्।

अझ रोचक कुरा त कम्प्युटर, ट्याबजस्ता माध्यममा डिजिटल पुस्तक पढ्नुभन्दा साँच्चिकै पुस्तक (हार्ड कपी) पढ्नु राम्रो हुने पाइएको छ। अध्ययनमा डिजिटल पुस्तक पढ्ने बालबालिकाको सिक्ने क्षमता ‘हार्ड कपी’ वा कागजी किताब पढ्ने जति नहुने उल्लेख छ। हार्ड कपी पढेका बालबालिकामा डिजिटल पुस्तक पढ्ने बालबालिकाभन्दा आफ्नो कुरा अरूलाई सजिलै सुनाउन र नजानेको कुरा तोकेरै सोध्न सक्ने क्षमता बढी हुन्छ। यति मात्र होइन, हार्ड कपी पढेका बालबालिकाले सामाजिक वातावरणलाई राम्रोसँग बुझ्ने र सहयोगीको भावना बढी हुन्छ।

सानै उमेरदेखि पढ्ने बानी लागेका बालबालिका किशोर हुँदा पनि बाबुआमासँग समुद्र वा बगैंचामा घुमेजस्तै पढाइमा पनि रमाउँछन्। सानै उमेरमा बालबालिकाको सिकाइ र उनीहरूका लागि पुस्तकमा लगानी गर्नु भविष्य बलियो बनाउनु हो। डा. सिकोरा विद्यालय तहमा पुगेर वर्ष दिनको लागि ट्यूसनमा खर्च गर्नुको साटो सानै उमेरमा पुस्तकमा खर्च गर्नु उचित हुने बताउँछन्। बालबालिकालाई भूत वा कुनै काल्पनिक घटनाभन्दा भौगोलिक र भौतिक जानकारी दिने यथार्थपरक पुस्तक पढाउनु उचित हुने उनको सुझाव छ।

हिमाल खबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here