एसईई परीक्षाको तयारी होम क्वारेन्टाइनमा गरौं

0
208

झण्डै दुई महिनाअगाडि चीनको वुहानमा देखिएको कोरोना भाइरस (कोभिड–१९) अहिले १२० भन्दा धेरै देशमा फैलिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार पशुबाट मानवमा सर्ने कोरोना भाइरस सात प्रकारका छन् र यसले मुलतः मानव श्वासप्रश्वास प्रणालीमा संक्रमण पैदा गर्छ । यसमध्ये चार प्रकारका कोरोना भाइरस (229E, NL63, OC43 र HKUI ) काे असर रुघाखोकीजस्तो सामान्य हुन्छ भने (SARS -COV र MERS -COV ) को संक्रमणको असर अलि धेरै रहन्छ । हाल देखिएको कोरोना भाइरस भने सातौं प्रकारको कोरोना भाइरस हो ।

प्रारम्भिक अध्ययन अनुसन्धानले यो भाइरस केही वर्षअघि देखिएको सार्स र मार्सजस्तै पशुबाट मान्छेमा सरेको जुनोटिक प्रकृतिको रहेको साथै मानिसबाट पनि पशुमा सरेको पाइएको छ । यो भाइरसले संक्रमित मान्छेले खोक्दा, हाछ्यू गर्दा निस्कने थुक र सिँगानको माध्यमबाट अर्को स्वस्थ मान्छेको हात, आँखा, मुख हुँदै शरीरभित्र छिरेर श्वासप्रश्वास प्रणालीमा संक्रमण पैदा गर्छ । यसको सामान्य लक्षण देखिन र पहिचान गर्न पनि २ देखि १४ दिनसम्म लाग्ने भएकाले तत्कालका लागि यसलाई फरक प्रकृतिको भाइरसको रूपमा हेरिएको छ ।

यही विशेषताका कारण कोभिड १९ संक्रमित व्यक्तिबाट अन्य धेरै मानिसमा फैलिँदै प्रकोपको अवस्थामा पुगेको छ । डब्लूएचओ र जनस्वास्थ्य विज्ञहरूका अनुसार यसको प्रमुख लक्षणको रूपमा उच्च ज्वरो आउनु, सुख्खा खोकी लाग्ने, नाकबाट पानी बग्ने, टाउको दुख्ने, श्वास फेर्न गार्हो हुने, घाटी बस्ने हुन्छ । साथै यो भाइरसले निमोनिया, किड्नीले काम नगर्ने र ज्यानसमेत जानसक्ने अवस्था सिर्जना भएको पाइएको छ ।

विद्यालय बन्द गर्ने, एसईई सार्नेजस्ता निर्णय गर्ने/नगर्ने सन्दर्भमा हाम्रो चिन्ता शैक्षिक क्यालेन्डर नबिगार्ने भन्दा पनि यसले जनतालाई दिने मनोवैज्ञानिक सन्देश के हुन्छ भन्ने छ
यससम्बन्धी वैज्ञानिक खोज अनुसन्धान भइरहेका छन्, आगामी दिनहरूमा थप तथ्यहरू आउँदै जानेछ ।

वर्तमान अवस्था

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वभर कोरोना भाइरसबाट संङ्क्रमितको संङख्या झण्डै सवा लाखको हाराहारीमा छ । जसमध्ये आधा सङ्क्रमित पूर्ण रूपमा ठीक भइसकेका छन् । उपचाररतमध्ये ८४ प्रतिशत ठीक हुने क्रममा छन् र बाँकी १६ प्रतिशतको अवस्था सघन छ । मृत्यु हुनेको सङ्ख्या झण्डै ३ प्रतिशत हाराहारीमा देखिएको छ र त्यसमा पाका उमेरका दीर्घरोगीहरूको सङ्ख्या धेरै छ ।

वर्तमान अवस्थालाई डब्लूएचओका महासचिवले नियन्त्रणयोग्य परिस्थिति भनेर सम्बोधन गरेका छन् । यसको अर्थ अहिलेको अवस्थामा कुनै मुलुकले आधारभूत स्वास्थ्य व्यवस्था, जस्तै संक्रमित भएको व्यक्ति पत्ता लगाउने र उसको सम्पर्कमा अएका व्यक्ति ट्रेसिङ गर्नेलगायतका तयारी नगरेको खण्डमा महामारी घातक हुनसक्छ भन्ने हो ।

मुलुकको परिस्थितिअनुसार महामारीसँग लड्न कटिबद्ध भई रणनीति बनाएर काम गरिरहेका सरकार, सचेत नागरिक र समुदायको सामूहिक पहलकदमीमा प्रकोप नियन्त्रण गर्न सकिने देखिन्छ । जस्तै, चीन, जहाँ सबैभन्दा ठूलो सङ्ख्यामा संक्रमित छन् । र, त्यहाँको स्वास्थ्य विभागले हालसालै स्थिति नियन्त्रणमा आइसकेको घोषणा गरिसकेको छ ।

नेपालको अवस्था

विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नेपालमा एउटा मात्रै व्यक्ति संक्रमित देखिएको र उनी उपचारपछि निको भएको जनाएको छ । त्यसबाहेक अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति भेटिएका छैनन् । सुखद् पक्ष चीनबाट आएका नेपालीलाई पनि संक्रमण देखिएन । साथै अस्ट्रेलियामा नेपाली विद्यार्थी सङ्क्रमित भएको भनिएता पनि नेपालमै सङ्क्रमित भएको अहिलेसम्म पुष्टि हुनसकेको छैन ।

यी तथ्यहरूलाई विश्लेषण गर्दा अहिलेसम्म नेपाल यो महामारीबाट कम प्रभावित हुनुमा हाम्रो खानपान, संस्कृति, पर्यावरण र रोग प्रतिरोधात्मक क्षमता राम्रो भएको वा अन्य केही कारणहरू हुनसक्छन्, जसको भोलिका दिनमा खोज अनुसन्धान हुने नै छ । तर, पनि हामी प्रष्टै हुनुपर्ने के हो भने हामी अत्यन्तै जोखिममा छौं ।

विश्वभरि नै जोखिमको स्तर चुलिँदै गएको अहिलेको अवस्थालाई डब्लूएचओले महामारीको घोषणा गरिसकेको छ । साथै छिमेकी भारत, जुन देशसँग हाम्रो खुला सिमाना छ, त्यहाँ संक्रमितको सङ्ख्या बढिरहेकाले हाम्रा लागि जोखिमको स्तर अझै बढ्दै गएको छ ।

विश्वमा फैलिरहेको महामारीबाट देशका नागरिकलाई जोगाउन, राज्यको विभिन्न क्षेत्रहरूमा पुर्‍याउने अल्पकालीन र दीर्घकालीन असरको विश्लेषण गर्दै थप प्रभावकारी रणनीतिक कदम चाल्न मन्त्रिपरिषद्को बैठकले उपप्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरी काम गरिहेको छ ।

समितिले सर्वदलीय बैठक बोलाई त्यहाँ आएका महत्त्वपुर्ण सुझावहरूलाई आत्मसात गर्दै सरकारभित्र र वाहिरका सबै दल र नागरिक समाजहरू मिलेर सम्भावित प्रकोपको सामना गर्न तयार रहेको अवस्था छ । यसको पछिल्लो बैठकले जोखिमको ठीक आँकलन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशित गरेको छ ।

तथापि, सरकारले अहिलेको अवस्थामा प्लान–ए र प्लान–बी बनाएर काम गर्दैछ । प्लान–एमा संक्रमण भित्रिन नदिने, जनचेतना फैलाउने, धेरै सङ्ख्यामा स्वयंसेवकहरू परिचालन गर्ने, संक्रमितको निगरानीलाई व्यवस्थित गर्नेलगायत छन् ।

सङ्क्रमित थोरै सङख्यामा भए प्लान–बीमा जानुपर्ने हुन्छ । जसमा ‘मेडिकल इमरजेन्सी’ लगाएर रोकथाममा लाग्ने रणनीति सरकारले लिएको छ ।

शिक्षामा लिएको रणनीति

कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै विद्यालय बन्द गर्न शिक्षामा सरोकार राख्नेहरूबाट सुझावहरू आएका छन् । यो सवाल शिक्षाको नभएर मूलतः जनस्वास्थको हो । अझ बढी तीनै तहको सरकारकै सवाल हो, यसमा सबैको सुझाव अपेक्षित छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अहिलेको परिस्थितिलाई नजिकबाट विश्लेषण गरिरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको विश्लेषण र दिएको सुझावलाई ध्यान दिँदै स्वास्थ्यसम्बन्धी निर्णय गर्ने विज्ञ मन्त्रालय स्वास्थ्य मन्त्रालयको आधिकारिक प्रस्ताव र उपप्रधानमन्त्रीको नेतृत्वमा गठन भएको समितिले लिने निर्णयको आधारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अन्तिम निर्णय गर्दै आएको छ ।

विद्यालय बन्द गर्ने, एसईई सार्नेजस्ता निर्णय गर्ने/नगर्ने सन्दर्भमा हाम्रो चिन्ता शैक्षिक क्यालेन्डर नबिगार्ने भन्दा पनि यसले जनतालाई दिने मनोवैज्ञानिक सन्देश के हुन्छ भन्ने छ ।

यो पृष्ठभूमिमा अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सरकारले बनाएको प्लान–एअन्तर्गत रहेर काम गरिरहेको छ । सामान्य परिस्थितिमा पनि सचेतनाको काम गर्नका लागि हाम्रो शिक्षा प्रणालीमा रहेका सबै अंगहरू (सार्वजनिक निजी विद्यालय, सामुदायिक क्याम्पस, सबै विश्वविद्यालय, सबै विद्यार्थी संगठन, अभिभावक संघ, प्याब्सन, हिसान, एन (प्याब्सन) को भूमिका उल्लेख्य रहेको छ । अहिलेको कोरोनाको जोखिम वृद्धि भइरहेका विशिष्ठ अवस्थामा यी सबैको भूमिका झन् महत्त्वपुर्ण हुन गएको छ ।

विद्यालय व्यवस्थापन समितिले समग्र स्कुलको सरसफाइ र परिस्थितिले मागेको सचेततनामा ध्यान दिन जरुरी छ भने स्थानीय सरकारले अनुगमन गर्नुपर्छ
मन्त्रालय सबैको नियमित परामर्शमा विकसित परिस्थितिलाई व्यवस्थापन गर्दै हाललाई शैक्षिक क्यालेन्डर अनुसार कार्यक्रमहरू अगाडि बढाउन दृढतापूर्वक लागिरहेको छ । त्यसैअनुरूप कक्षा ९ सम्मको परीक्षा चैत्र ५ गतेसम्म सक्ने निर्देशन दिएका छौं ।

अहिलेको अवस्थामा सबै स्थानीय सरकारहरूले यस कार्यलाई तीव्रताका साथ लागू गरिरहेका छन् । परिस्थिति परिवर्तन भई जोखिम तह बढेको जानकारी आउनेबित्तिकै विद्यार्थीको हितअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अविलम्ब नयाँ निर्णय लिनेछ । तर, अहिलेलाई शैक्षिक संस्था बन्द गरिहाल्नुपर्ने विन्दुमा हामी पुगेका छैनौं, किनकी, देशभित्र नयाँ संक्रमित भेटिएको छैन र अहिलेसम्मको प्रवृत्ति हेर्दा १० वर्षमुनिको उमेर समूहमा (अपवादबाहेक) संक्रमण देखिएको छैन ।

चैत्र ५ गतेसम्म कक्षा ९ सम्मको विद्यालय परीक्षा सम्पन्न भएपछि अघोषित रूपमा विद्यालय बन्द नै हुनेछ । त्यसपछि एसईईमा हामी केन्द्रित हुनेछौं । ११ र १२ को परीक्षा एक महिनापछि हुने हुँदा परिस्थितिमा लगभग परिवर्तन हुने अनुमान गरिएको छ ।

सीटीईभीटी र विश्वविद्यालयहरूमा चलिरहेका परीक्षाको सन्दर्भमा पनि परीक्षा स्थगन गर्ने परिस्थिति र सुझाव आएको छैन । तथापि, परिस्थिति अझै भयावह वा संक्रमण फैलिएको पाइएमा शैक्षिक संस्था बन्द गर्ने, परीक्षा रोक्नेमात्र होइन, शैक्षिक संस्थाहरूलाई क्वारेन्टाइन वा अइसोलेसन केन्द्रका रूपमा पनि विकसित गर्नुपर्ने हुन सक्छ । त्यसका लागि पनि हामी तयार छौं ।

सरकार सबैको सल्लाह, सुझाव लिँदै परिस्थितिको व्यवस्थापन गरेर आफ्नो कर्तव्य पूरा गर्नेमा दृढ रहेको विश्वास दिलाउन चाहन्छु ।

एसईई केन्द्रित तयारी र अपील

तीनै तहका सरकार मिलेर यही चैत्र ६ गतेदेखि एसईई परीक्षा गराउने तयारीमा छौं । त्यसका लागि १९९५ परीक्षा केन्द्र तय गरिएका छन् । परीक्षा केन्द्रहरूमा प्राथमिक उपचार केन्द्र राख्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच मन्त्रिस्तरमा निर्णय भएको छ ।

निजी, गैरसरकारी, सामुदायिक स्वास्थ्य संस्थाहरूबाट पनि स्वास्थ्य स्वयंसेवक परिचालन गर्न मन्त्रालय लागिरहेको छ । यसमा प्रदेश सरकारले संयोजन गरेर प्रभावकारी ढंगले काम गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।

परीक्षार्थीहरूले अहिले सेल्फ र होम क्वारेन्टाइनमा बसेर आफ्नो पठनपाठन अगाडि बढाउनुपर्छ । नियमित हात धुने, मास्क प्रयोग गर्ने, संक्रमणको लक्षण देखिएकाबाट दूरीमा बस्ने, स्वास्थ्य मन्त्रालयबाट जारी हुने निर्देशनहरूको नियमित पालना गर्नेजस्ता सावधानी अपनाउने र नडराई आफ्नो अध्ययन जारी राख्नुपर्छ ।

यस सन्दर्भमा विद्यालय व्यवस्थापन समितिले समग्र स्कुलको सरसफाइ र परिस्थितिले मागेको सचेततनामा ध्यान दिन जरुरी छ भने स्थानीय सरकारले अनुगमन गर्नुपर्छ ।

अहिले आतंकित हुने होइन, सचेत रहनुपर्छ । डर र त्रासमा रहनुभन्दा सचेत रहौं, सावधानी अपनाऔं
एसईई परीक्षा केन्द्रमा हिमालमा १५०, पहाडमा २५० र तराईमा ३०० सम्म परीक्षार्थी राख्ने मापदण्ड भएता पनि कोठाहरूको उपलब्धता हेरी यथासम्भव पातलो संख्यामा परीक्षार्थी राख्ने, छुटै अइसोलेसन कक्षको व्यवस्थापन गर्ने, परीक्षाकेन्द्र बाहिर अनावश्यक भीड नगर्ने, सकेसम्म स्कुलबसहरू तत्कालका लागि प्रयोग नगर्ने र गर्नुपर्ने बाध्यता भएमा त्यसमा पालना गर्नुपर्ने आचारसंहिता बनाउने र सीडीओको नेतृत्वमा रहेको जिल्ला एसईई सुरक्षा समितिमा स्वास्थ्यको प्रतिनिधि पनि आमन्त्रण गरेर स्थानीय परिस्थितिको आकलन गर्नेजस्ता कार्य गर्नुपर्छ ।

अन्त्यमा,

नेपाली समाजको एउटा विशेषता छ, आपत् विपतको बेलामा एक जुट भएर डटेर सामना गर्ने । केही वर्षअघि हामीले भुइँचालो र त्यसलगतै नाकाबन्दी एक भएर सामना गरेकै हो । अहिलेको सम्भावित विपदको अवस्थामा हामी सचेत भएर एक अर्कालाई सुसूचित गर्न जरुरी छ ।

माथि उल्लेख गरिएजस्तै नियमित रूपमा राम्रोसँग हात धुने, खोक्दा हाछ्यू गर्दा मुख छोप्ने, वृद्धवृद्धा र दीर्घरोगीहरूलाई विशेष ख्याल गर्ने उनीहरूलाई भीडभाडमा नलग्ने, भीड हुनेखालका कार्यक्रमहरू (विवाह, भोज आदि) घटाउने वा कम गर्ने, आधिकारिक संस्थाहरूबाट शिक्षात्मक र चेतनामूलक सूचना लिएर त्यसअनुरुप व्यवहारमा प्रयोग गर्दा यो रोगको महामारीबाट बच्न सकिने देखिन्छ ।

आफू सफा हुने, आफ्नो घरआँगन, छिमेक र शिक्षालयलगायतका सार्वजनिक ठाँउहरूको सफाइमा ध्यान पुर्‍याउनु अत्यावश्यक छ । हाम्रा शैक्षिक संस्थामा अध्ययनरत ६० लाख विद्यार्थीहरूलाई ठीक ढंगले बुझाए र बुझेमा एकैपटक लाखौं घरघरमा जनचेतना फैलाउन ठूलो योगदान पुग्ने छ ।

सूचना र प्रविधिको वर्तमान युगमा सचेतना फैलाउन सजिलो छ, साथै यही माध्यमबाट फैलाउन सकिने नकारात्मक सूचनाबाट पनि आफू र अरूलाई बचाउन जरुरी छ ।

अहिले आतंकित हुने होइन, सचेत रहनुपर्छ । डर र त्रासमा रहनुभन्दा सचेत रहौं, सावधानी अपनाऔं ।

अनलाइन खबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here