होम क्वारेन्टाइनमा रहेका ७० लाख बालबालिकालाई बिदामा के सिकाउने ?

0
594

कोरोना भाइरसको त्राससँगै गत ५ चैतदेखि देशभरका सबै विद्यालय बन्द छन् । कक्षा १ देखि ९ सम्मका बालबालिका वार्षिक परीक्षा सकेर पठनपाठन बन्द भएपछि घरमै छन् । कोरोनाका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई), सिटिइभिटी र विश्वविद्यालयका परीक्षासमेत रोकिएका छन् । विद्यालयदेखि विश्वविद्यालयसम्मका शैक्षिक संस्थाको पठनपाठन बन्द भएको केही दिनमै कोरोना भाइरस संक्रमित भेटिएपछि सरकारले पूरै देश दुईसाता लामो लकडाउन गरेको छ । चैत मसान्तसम्मका लागि बन्द गरिएका विद्यालय त्यतिवेलासम्म पनि खुल्ने हो होइन, निश्चित छैन ।

लामो समय विद्यालय बन्द हुँदा बालबालिकालाई घरभित्रै कसरी अध्ययनसँगै रचनात्मक काममा सहभागी गराउने भन्ने चिन्ता अभिभावकमा छ । घरभित्र व्यस्त गराउन नसक्दा कतिपय बालबालिका लकडाउनका वेला पनि जोखिमपूर्ण रूपमा सडक, चोक र गल्लीमा खेलिरहेका भेटिन्छन् । शिक्षा मन्त्रालयका अनुसार प्रारम्भिक बालविकास (इसिडी)देखि कक्षा १० सम्मका ७० लाख बालबालिका अहिले बिदामा छन् । तर, यी बालबालिकालाई विद्यालय बन्दको समयमा घरभित्र कसरी सहज व्यवस्थापन गर्ने भन्ने कुनै विकल्प सुझाएको छैन ।

यो अवस्थामा माथिल्लो तहका विद्यार्थी उपयुक्त स्वनिर्णय गर्न सक्ने भए पनि तल्लो तहका बालबालिकालाई सही दिशानिर्देश आवश्यक रहने विज्ञहरूको सुझाब छ । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला प्रविधिको प्रयोग गरेर सिकाउन सकिने भए पनि सरकार चुकिरहेको बताउँछन् ।

‘प्रविधिको युगमा अनलाइन, रेडियो वा टेलिभिजनबाट बालबालिकालाई शिक्षा दिन सकिन्छ । फेसबुकलगायत सामाजिक सञ्जालको पहुँचमा हुनेलाई पनि त्यही माध्यमबाट पढाउन सकिन्छ,’ शिक्षाविद् कोइरालाले भने, ‘प्रविधिको प्रयोग गरेर सिकाउँदा शैक्षिक वर्ष खेर नजाने र विद्यार्थी पनि सिकिरहने वातावरण बन्थ्यो । तर, यो बाटोमा जान सरकार चुकेको छ ।’ आफूले यसबारे शिक्षा मन्त्रालयका अधिकारीहरूलाई भने पनि वास्ता नगरेको उनको गुनासो छ ।

विदेशमा लामो समय विद्यार्थीको पढाइ हुन नसक्ने अवस्था भए कक्षाअनुसारको काम दिने अभ्यास छ । दैनिक रुटिनअनुसार काम दिने गरिन्छ । कोरोनाको यो महामारीमै बेलायतको लन्डनमा बालबालिकालाई प्याकेजमा काम दिइएको शिक्षाविद् कोइरालाले बताए । ‘अहिले लन्डनमा विद्यार्थीलाई बिहान ८ बजे उठ्ने र साढे ३ बजेसम्मका लागि प्याकेज दिइएको छ,’ उनले भने, ‘माथिल्लो तहकालाई अनलाइनबाट काम दिने र तल्लो तहकालाई प्याकेजमा काम दिने गरिएको छ ।’

घरमै पनि बालबालिकालाई व्यावहारिक अभ्यास गराउन सकिने

बालबालिकालाई कक्षाअनुसारको अध्ययन÷अनुसन्धान गर्न लगाउने विकल्प पनि छ । खाना, खाजा कसरी पकाउनेदेखि दैनिक जीवनमा गरिने कामको व्यावहारिक अभ्यास गराउन पनि अनुसन्धान भएको शिक्षाविद् कोइराला बताउँछन् । ‘सानालाई उनीहरूको उमेरअनुसार पाच्य हुने विषय घरमै सिकाउन सकिन्छ, ठूलालाई देश तथा विदेशका धेरै विषयमा ज्ञान दिन सकिन्छ,’ उनले भने ।

शिक्षाविद् प्रा.डा. वासुदेव काफ्ले पनि बाहिरको जोखिमबाट जोगाउन साना बालबालिकालाई घरभित्रै सहज व्यवस्थापन गर्नु चुनौतीपूर्ण भएको बताउँछन् । ‘बाहिर जान हुन्न भनेपछि बालबालिका झन् उत्सुक हुन्छन् । बालबालिका स्वभावैले जिद्धी पनि हुन्छन्,’ काफ्लेले भने, ‘उनीहरूलाई घरमै कुनै न कुनै काममा व्यस्त गराउनुपर्छ । साना बालबालिकालाई खेल्ने सामग्रीहरू जुटाइदिन सकिन्छ । केही ठूलालाई साथीहरूसँग कुराकानी गराइदिने, दैनिक गतिविधि सुनाउन लगाउने गर्न सकिन्छ ।’ उनले कोरोनाको मनोवैज्ञानिक असर बालबालिकामा पछिसम्म पर्न सक्ने भएकाले घरभित्रको वातावरण भयमुक्त बनाउन सुझाब पनि दिएका छन् । ‘भूकम्प गएको समयमा विद्यालय खुलेपछि पनि विद्यार्थीमा असर देखिएको थियो । डराउने र झस्किने गरेका थिए । त्यसैले, यसतर्फ अभिभावक सचेत हुनुपर्छ,’ शिक्षाविद् काफ्लेले भने ।

जोड्न सकिन्छ निःशुल्क इ–लर्निङमा

विद्यालय तहका बालबालिकालाई निःशुल्क इ–लर्निङमा जोडेरसमेत सिकाइमा व्यस्त गराउन सकिन्छ । इ–लर्निङको क्षेत्रमा पाठ्यक्रमअनुसार शिक्षण सामग्री उत्पादन गर्दै आएका कारखाना, मिदास एजकुेसन, म्याक्स कनेक्टलगायत संस्थाले निःशुल्क इ–लर्निङ दिने घोषणा गरेका छन् ।

कारखाना, मिदासले प्याब्सनसँग सम्झौता गरेरै निःशुल्क इ–लर्निङ गरेका छन् । कारखाना र प्याब्सनबीच केही दिनअघि भएको सम्झौताअनुसार बालबालिका विद्यालय जाने सहज वातावरण नहुन्जेलसम्म इ–लर्निङका सामग्री संकलन, उत्पादन र निःशुल्क वितरण हुनेछ । ‘शिक्षकको क्षमता अभिवृद्धिका लागि इन्टरनेटमा आधारित क्षमता विकासका कार्यक्रम संकलन गरी सहज ढंगले पहुँच सिर्जना गर्ने र विद्यार्थीका लागि रमाइला शैक्षिक क्रियाकलाप संकलन, उत्पादन र निःशुल्क वितरण गरिनेछ,’ सम्झौतामा भनिएको छ ।

मिदास एजुकेसन प्रालिले ‘मिदास इ–क्लास’ एक महिनाका लागि निःशुल्क दिने भएको छ । मिदास इक्यास एप नर्सरीदेखि कक्षा १० सम्मका सबै विद्यार्थीका लागि निःशुल्क दिने सहमति प्याब्सनसँग गरेको हो । सम्झौतामा भनिएको छ, ‘मिदास इक्यासको प्रयोग गरेर बालबालिकाहरू घरभित्रै पठनपाठन र रचनात्मक कार्यमा व्यस्त हुन सक्नेछन् । विभिन्न कक्षाअनुसारको सिकाइ कार्यकलापमा भाग लिई सिकाइ उपलब्धि हासिल गर्न सक्नेछन् । यीमध्ये कतिपय कार्यकलाप आफैँसँग प्रतिस्पर्धा गर्ने र कतिपय अरूसँग प्रतिस्पर्धा गरेर जित हासिल गर्ने पनि हुनेछन् ।’ यो सुविधा निजी, सामुदायिक जुनसुकै विद्यालयका विद्यार्थीले पनि निःशुल्क प्रयोग गर्न पाउनेछन् ।

म्याक्स कनेन्टले पनि एक महिना स्माटर लर्निङ एप्स निःशुल्क दिने व्यवस्था गरेको छ । म्याक्स कनेक्टका सञ्चालक जित राघवले विश्वव्यापी रूपमा कोरोना भाइरसको संक्रमण बढेको र लामो समय बालबालिका घरमै बस्नुपर्ने अवस्था आएकाले सिकाइ उपलब्धि बढाउने उद्देश्यले निःशल्क इ–लर्निङको व्यवस्था गरिएको बताए । पाठ्यक्रमअनुसार तयार गरिएको सामग्री भएकाले विद्यार्थीले धेरै लाभ लिन सक्ने उनले बताए ।

लामो समय बन्द हुने अवस्था आए विकल्प खोज्छौँ : दीपक शर्मा
प्रवक्ता, शिक्षा मन्त्रालय

सबै शैक्षिक संस्था बन्द भएको र देश नै लकडाउन भएको अवस्थामा स्वअध्ययन नै उपयुक्त विकल्प हो । माथिल्लो तहका विद्यार्थीले आफ्नो निर्णय गर्न सक्छन् । विद्यालय तहका बालिबालिकालाई बढी ध्यान दिनुपर्छ । विद्यालय तहमा उमेरअनुसार र कक्षाअनुसारका लर्निङ एप्स छन् । अनलाइन माध्यमको प्रयोग गरेर सिर्जनशील काम गर्नुपर्छ । बन्द लामो समय रहने अवस्था आएमा शिक्षा मन्त्रालयले विकल्प सोच्नुपर्छ । अहिले पनि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले टेलिभिजनमार्फत एसइई लक्षित कार्यक्रम सञ्चालन गरेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूले पनि प्रयास गरेका छन् । बालबालिकाको विषयमा विकल्प तयार गर्नुपर्छ ।

बालबालिकालाई यसरी राख्न सकिन्छ काममा व्यस्त : प्रा.डा. वासुदेव काफ्ले
शिक्षाविद्

अहिले हामी जुन वातावरणमा बसिरहेका छौँ, बालबालिकालाई यो कृत्रिम वातावरणबाट भय कम गर्नुपर्छ । कोरोनाको मनोवैज्ञानिक असर पछिसम्म पनि पर्न सक्छ । यसअघि भूकम्प गएको समयमा पछि विद्यालय खुलेपछि पनि त्यसको असर देखिएको थियो । बालबालिका डराउने, झस्किने, शिक्षकको प्रस्तुतिलाई सहज रूपमा नलिने समस्या भएको थियो । अभिभावकले बालबालिकालाई प्रकोपबारे सिकाउने, तर डराउन दिनुहुँदैन । यो समयमा खाना पकाउन, सरसफाइ गर्न लगाउन सकिन्छ ।

विद्यालय सुरु गरेका बालबालिकासँग पाठ्यसामग्री, सन्दर्भ सामग्री हेर्न लगाउने गर्नुपर्छ । यसो गर्दा उनीहरूमा सिकाइ रहिरहन्छ । साना बालबालिका छन् भने पहिले नै व्यवस्था गरेका खेल्ने सामग्री जुटाइदिने र त्यसलाई खेल्न, चलाउन दिनुपर्छ । विभिन्न माध्यममा बालबालिकाकेन्द्रित शैक्षिक कार्यक्रम छन् । कतै गणित कसरी सिक्ने र कतै अंग्रेजी विषयका कार्यक्रम आउँछन् । समय व्यवस्थापन गरी शैक्षिक कार्यक्रम हेर्न दिने गर्नुपर्छ । बालबालिकाकेन्द्रित कथा, सन्दर्भ सामग्री अध्ययन गर्न लगाउने र छलफल गर्ने । बालबालिकालाई सिर्जनात्मक र मनोरञ्जनात्मक क्रियाकलापमा पनि लगाउन सकिन्छ । यस्ता क्रियाकलापले भय कम गर्छ । अभिभावकले बालबालिकालाई कुनै न कुनै काममा संलग्न गराइरहनुपर्छ । बालबालिकालाई जोखिम कम गर्न अभिभावकले समय व्यवस्थापन गर्नुपर्छ । पढाइप्रति चासो जगाइदिन सकेमा पनि सहज हुन्छ ।

ज्ञान बढाउन प्रेरित गरौँ : प्रा.डा. शान्ता निरौला, मनोविज्ञ

जतासुकै कोरोनाको चर्चा छ । बालबालिकालाई कोरोना भाइरस के हो ? यसले कस्तो असर गर्छ, कसरी बच्ने भन्ने सिकाउनुपर्छ । भाइरस धेरै हुन्छन् । अरू भाइरस कस्ताकस्ता हुन्छन्, कोरोना र अरूमा के फरक छ भन्ने जानकारी दिनुपर्छ । बालबालिकाले कोरोना भाइरसका बारेमा जानेको विषयमा साथीहरूलाई फोनमार्फत सुनाउन सक्छन् । यसले बालबालिकालाई सम्झन सक्ने, सम्झेर भन्न सक्ने क्षमताको विकास गराउँछ । धेरै बालबालिकाले इन्टरनेटको प्रयोग गर्छन् । उनीहरूलाई कोरोनासँग सम्बन्धित तथ्य पत्ता लगाउन भन्न सकिन्छ । नयाँ तथ्य ल्याउनेलाई स्याब्बासी दिने, पुरस्कारस्वरूप चकलेट दिने वा यस्तै प्रेरित गर्ने काम गर्नुपर्छ । बालबालिकालाई घरकै काममा लगाउन सकिन्छ । टिफिन बनाउन, तरकारी तयार गर्न, रोटी बेल्न अर्थात् खाना वा खाजा बनाउने काममा पनि लगाउन सकिन्छ ।

अहिले बालबालिका र अभिभावक फुर्सदमा भएकाले घरायसी व्यवहारका कुराहरू पनि सेयर गर्नुपर्छ । घरका समस्याभन्दा समाधान गर्न सक्ने पनि हुँदै जान्छन् । अहिले कुनै समस्या भनिएन भने पछि सानो विषयमै धक्का महसुस गर्ने हुन सक्छन् । घरमा दिनको दुईवटा नयाँ कुरा भन्न लगाउन सकिन्छ । नयाँ कथा, जोकलगायत नयाँ कुरा भन्न लगाउने । यसले बालबालिकामा ज्ञानको विकास हुन्छ । ठूला बालबालिकालाई घर मर्मतलगायतका काम लगाउन सकिन्छ ।

अनलाइनमार्फत अध्ययन र नैतिक शिक्षा दिने वेला : टीकाराम पुरी
अध्यक्ष, प्याब्सन

विश्वव्यापी कोरोनाको संक्रमण फैलिएको छ । नेपालमा पनि लकडाउन भएको छ । यो वेला सबै बालबालिका र अभिभावक घरमै छन् । घरमै बसेर बालबालिकाले अध्ययन गर्नुपर्छ । प्याब्सनले घरमै रहेका बालबालिकालाई इ–क्लास लिन सक्ने व्यवस्थासमेत मिलाएको छ । मिदास र कारखाना कम्पनीसँग सम्झौता भएको छ । उनीहरूको एप डाउनलोड गरी इक्लास लिन सकिन्छ । एनटिभी प्लसमा एसइईका विद्यार्थीका लागि कक्षा सञ्चालन भएको छ । यतिवेला बालबालिका र अभिभावक घरमै बसेको समय छ । बालबालिकालाई व्यावहारिकता सिकाउने वेला हो । दैनिक व्यवहारमा आउने खाना पकाउने, सरसफाइ गर्नेलगायतका विषय घरमै सिकाउन सकिन्छ । अभिभावकले बालबालिकालाई नैतिक शिक्षा र संस्कार सिकाउने वेला पनि यही हो ।
नयाँ पत्रिकाबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here