नेपाली बालसाहित्यका अगुवा, विशिष्ट साधक श्री शान्तदास मानन्धरको २०८० कात्तिक २८ गते मंगलबार निधन भएको छ ।

मानन्धरले नेपाली बालसाहित्यमा लेखन, पुस्तक प्रकाशन, सम्पादन, बालपत्रिका प्रकाशन, सिर्जनात्मक लेखन प्रशिक्षण, कथावाचनलगायतका विभिन्न माध्यमबाट महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो । बालसाहित्यमा दुई दर्जनभन्दा बढी पुस्तक प्रकाशन गर्नु भएका शान्तदाशले २०३८ सालदेखि बालकोसेली पत्रिका प्रकाशन गर्दै आउनु भएको थियो । उहाँले कोसेली छापाखाना सञ्चालन गरी प्रकाशन उद्योगमा समेत योगदान पुर्याउनु भएको थियो ।

शान्तदासको १९९१ साल जेठ ८ गते काठमाडौंको झोँछेमा जन्म भएको हो । ‘राम्रो नराम्रो’, ‘कथाकोसेली (भाग ६ सम्म)’, ‘कमिलाले सुनाएको मुसाको दुलोको कथा’, ‘हजुरआमाले सुनाएको भूकम्पको कथा’, ‘म जोकर बन्छु’ लगायतका उहाँका बालपुस्तक र बालकोसेली बालसाहित्यको पत्रिका बालबालिकामाझ धेरै लोकप्रिय थिए । उहाँले बालसाहित्यका साथै शिक्षाको विकास र प्रगतिशील तथा वैचारिक साहित्यमा पनि कलम चलाउनु भएको छ । उहाँले २ सयभन्दा बढी पुस्तक सम्पादन गर्नु भएको छ ।

बालपत्रिका प्रकाशनका क्रममा उहाँले श्यामप्रसाद, गोपालराज मैनाली, जनकप्रसाद हुमागाईं, कुलमानसिं भण्डारी, केके कर्माचार्यलगायतसँग काम गर्नु भएको थियो । युद्धप्रसाद मिश्र, दुर्गालाल श्रेष्ठ, रामबाबु सुवेदी, खगेन्द्र संग्रौलालगायतलाई बालसाहित्य लेखनमा उहाँले उत्प्रेरित गर्नु भएको थियो । ९० वर्षीय मानन्धरलाई हर्नियाको समस्या देखिएपछि गत साता बयोधा अस्पताल भर्ना गरिएको थियो ।

नयाँ पुस्तालाई सधैँ प्रेरणा दिने शान्तदासले जगदम्बा पुरस्कार, प्रतिभा पुरस्कार, देवकोटा पुरस्कारलगायत थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गर्नु भएको थियो । उहाँले बालवाङ्मय तथा अनुसन्धान केन्द्रबाट २०७९ सालको साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान प्राप्त गर्नु भएको थियो । विभिन्न संस्थाले ‘बालसाहित्य रत्न’ उपाधि प्रदान गरेका थिए । उहाँका ३ छोरी र २ छोरा छन् ।

नानीबाबुअनलाइन परिवार उहाँको आत्माको चीरशान्तिको कामना गर्दै शोकाकूल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछ । त्यस्तै बालवाङ्मय तथा अनुसन्धान केन्द्रलगायत बालसाहित्यका क्षेत्रमा क्रियाशील स‌ंघ संस्था स्रष्टा तथा व्यक्तिहरुले उहाँकाे निधनप्रति शोक प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।