– जितेन्द्र रसिक

१‍,

चिउरा कुट्ने मुसली
धान कुट्ने ढिकी
रोटी पकाउँथीन् आमा
कोदो चुटी चुटी

२,

पिठो पिन्थे हातैले
ढुंगे जाँताे घ्वाइँ घ्वाइँ
आगो बाली चुल्होमा
रोटी पोल्थे च्वाइँ च्वाइँ

३,

खाजा खुवाउँथे आमा
हाँडीमा मकै भुटी
विज्ञानले फड्को मार्यो
सबथाेक गयो छुटी

४,

गाग्री बोकी घन्टौं हिंड्थे
कुवाको खानेपानीलाई ।।
पत्याउन गाह्रो होला है
आजकालका नानीलाई ।।

५,
नुन लिन महिनौं हिंडी
पुग्नु पर्थ्याे ल्हासा
नुन ल्याई परिवारलाई
खुवाउने हुन्थ्यो आशा

६,

हलो जोत्न बाबा
गोरू नार्नु हुन्थ्यो
धानको विउ आमा
खेतमा सार्नु हुन्थ्यो

७,

अहिले हेर ट्याक्टरले
खेत जोत्छ सुरूरू
धान झार्छ गहुँ झार्छ
मेसिनले खुरूरू

८,
पढ्नलाई कुनै
स्कुल पनि थिएन
पढ्नलाई सजिलो
छँदा पनि थिएन

९,

जब खुल्यो स्कुल
पढ्न किताब थिएन
लेख्नलाई कलम–कापी
मसी पनि थिएन

१०,
अंगार र काठे पाटी
हुन्थ्यो खरी साथी
माटोमाथी अक्षर लेखी
सिक्दा हुन्थ्यो जाती

११,

आजकालका नानी
सारै भाग्यमानी
पढ्न लेख्न पाउँछन्
स्कुल छानी छानी

१२,

गाडी पनि थिएन
जहाज पनि थिएन
जहिंतहिं दुःख थियो
सुःख त्यति थिएन

१३,

पत्रिका पनि थिएन
चिठ्ठी पनि थिएन
फोन पनि थिएन
मोवाइल पनि थिएन

१४,

रेडियो झन् थिएन
टीभी पनि थिएन
भिडीयो गेम थिएन
कम्प्युटर पनि थिएन

१५,

खेल हुन्थ्यो रूमाल लुकाई
गट्टा चुङ्गी भुर्रा
कपर्दी र डन्डीवियो
खेल्थे नाच्थे हुर्रा

१६,

बिजुली पनि थिएन
सोलार पनि थिएन
सलाई पनि थिएन
लाइटर झनै थिएन

१७,

चकमक झुल्का रगडेर
आगो सल्काउँथे
बाँसको सिता बालीबाली
घरगोठ उजिल्याउँथे

१८,

हाँडीमा उसिनेर
घैया, धान भुट्थे
ओखलमा ढिकीच्याउँ
चिउरा कुटी खान्थे

१९,

मन्दिर, पाटी,पौवा घर
हातैले पो बनाउँथे
श्रम गरि गरिकन
पसिना धेरै चुहाउँथे

२०,

कलकारखाना थिएन
औजार पनि थिएन
पुर्खाहरूले कहिल्यै
अल्छी पनि मानेन

२१,

परिश्रम गरौ सबैले
बनाै‌ पुर्खाभन्दा जान्ने
सबैथोक छ हामीसँग
किन अल्छी मान्ने

जितेन्द्र रसिक
jitendrarasic@gmail.com
थप जानकारी