– शाश्वत पराजुली

गुइँठेसँग एउटा गुलेली थियो । ऊ गुलेलीको खुबै जतन गथ्र्यो । किताबभन्दा पनि बढी माया उसलाई गुलेलीको थियो । उसले गुलेलीलाई रातो रबडले बेरेर चिटिक्क बनाएको थियो । कहिलेकाहीँ गुइँठे किताब राख्ने झोलामा सुटुक्क गुलेली राख्थ्यो । स्कुल पनि लिएर जान्थ्यो । स्कुलबाट फर्कंदा ऊ तिनै गुलेलीले बाटाका चरालाई ताक्थ्यो । कहिलेकाहीँ त एकै पटकमा हाँगाको चरा फुत्रुक्कै भुइँमा झर्थे । ऊ नाकको पोरा फुलाउँदै साथीहरूलाई भन्थ्यो— “आज मैले एकै पटकमा ढुकुर झारेँ नि ।”

उसको यस्तो काम धेरै साथीहरूलाई मन पर्दैनथ्यो । उनीहरू भन्ने गर्थे— “निर्दोष चरालाई दुःख लिएर के दङ्ग पर्छाै ? तिमी राम्रो काम गरिरहेका छैनौ !”

केही साथीहरू भने गुइँठेलाई हौँस्याउँदै उसको साथ दिन्थे । आज पनि गुइँठेले गुलेली लिएर स्कुल गयो । स्कुल छुट्टी हुनेबित्तिकै उसले झोलाको गुलेली निकाल्यो र बजारको बाटो लाग्यो । घाम चर्को लागेको थियो । गर्मीले होला बाटोमा हिँड््नेहरू कमै थिए । कता चरा भेटिन्छ भनेर गुइँठे माथिमाथि हेर्दै हिँडिरहेको थियो । उसको आँखा बाटोपारि सिसैसिसा भएको घरमा परे । उसले घरको छानामा एकजोडी भँगेरा देख्यो । गुइँठे दङ्ग प¥यो । ऊ बिरालाको चालले घरको नजिकै पुग्यो । यसले झोलाबाट एउटा मट्याङ्ग्रा निकालेर गुलेलीमा चढायो । अनि गुलेलीले ताकेर भँगेरालाई हान्यो ।

“झ्यार्याम्म !” मट्याङ्ग्रो गएर सिधै घरअगाडिको सिसाको झ्यालमा बज्रियो । झ्यालका ठूलो सिसा झ¥यामझुरुम भएर तल झरे । भँगेराका जोडी भने भुर्र उडेर पर पुगे ।

गुइँठेको मुख रातो भयो । ऊ बिछट्टै डरायो । उसले सोच्यो— “अब मलाई यो घरका मान्छेले सजायँ दिनेछन् । फुटेको सिसाको पैसा पनि त तिराउलान् नि !” उसको शरीरबाट खलखली पसिना बग्न थाल्यो ।

गुइँठेले यताउति पल्याकपुलुक हे¥यो । नजिकै कोही मानिस थिएनन् । उसले हत्त न पत्त गुलेलीलाई झोलामा लुकायो र सोच्यो— “लुसुक्क भाग्नु पर्छ कि क्या हो ?”

गुइँठेले एकपटक तलतिर हे¥यो । बाटोमा फुटेका सिसा छरिएका थिए । उसले फेरि मनमनै भन्यो— “ओहो ! बित्यासै पर्ने भो । यो सिसा कसैका खुट्टामा बिझे के होला ! अहिले पो मान्छे हिँडेका छैनन् । तर यो त चल्तीको बाटो हो नि त !”

ऊ अलि अगाडि बढ्यो । तर उसको मन मानेन । उसले सोच्यो— “त्यो फुटेका सिसाले धेरैलाई चोट लाग्न सक्छ । . . मलाई पनि त एकपटक सिसाले खुट्टा काटेको थियो । अहो ! कति धेरै रगत बगेको थियो त्यतिखेर ।”
ऊ फर्केर सिसा फुटेको ठाउँमा पुग्यो । ऊ होसियार भएर फुटेका सिसा एक ठाउँमा बटुल्न थाल्यो ।

त्यतिकैमा सिसा फुटेको घरबाट एकजना दिदी तल झर्नुभयो । ती दिदीलाई देख्नेबित्तिकै गुइँठे झसङ्ग भयो । डरले उसका ओठ मुख सुके । उसले आफ्नो झोलामा कसैले नदेख्ने गरेर गुलेली छाम्यो । गुलेली त झोलामै थियो । उसलाई रुनु न हाँस्नु भयो ।

उसले मनमनै सोच्यो— “अब म नबच्ने भएँ । यी दिदीले सिसा फुटाएको मैले नै हो भन्ने यसले थाहा पाइसक्नुभयो जस्तो छ । मेरो पोल खुल्ने भयो बा । आखिर गुलेली पनि त झोलामै छ । दिदीले मलाई सजाय नदिई के छोड्नु होला र !”

गुइँठे केही भन्न खोज्दै थियो । उसका ओठ काँपिरहेका थिए । उसको मुटु ढुकढुक गरिरहेको थियो । त्यत्तिकैमा त्यो घरकी दिदीले भन्नुभयो— “बाबु ! हेर त कोही कति फटाहा हुन्छन्, कोही कति जाति हुन्छन् । भर्खरै कसैले मेरो ऐना फुटाइदिए । तिमीचाहिँ अरूलाई बिझ्छ भनेर बाटोका सिसा पन्छाउँदै छौ । तिमी कति जाति रैछौ ! अहिलेको जमानामा यस्ता असल मान्छे कहाँ पाउनु ? तिमीलाई धेरैधेरै धन्यवाद है !”

गुइँठेलाई एकछिन त सपना हो कि बिपनाजस्तो लाग्यो । उसले लामो सास फे¥यो । ‘मैले नै फुटाएको हो’ भन्न पनि सकेन गुइँठेले । ऊ दिदीलाई हेरेर मुसुक्क हाँस्यो मात्रै । उठाएको सिसा एक छेउ लगाएर ऊ सुरुसुरु घरतिर लाग्यो ।
घर जाने बाटोको छेउमा एउटा ठूलो पोखरी थियो । गुइँठे पोखरीछेउ पुग्यो । उसले झोलाबाट गुलेली झिक्यो । केके सोच्दै उसले एकैछिन गुलेली खेलायो । कुर्कुच्चा जुरुक्क उचालेर उसले गुलेलीलाई पोखरीमा फुत्त फालिदियो । डुब्दै गरेको गुलेलीले पोखरीको पानीमा ठूला घेराहरू बनाए । उसले त्यतातिर हेर्दै मनमनै भन्यो— “अबदेखि गुलेली छुँदै छुन्नँ !”