काठमाडौंको गोठाटारस्थित विद्या विकास स्कुलमा सिर्जनात्मक लेखन तथा कथा वाचन कार्यशाला आयोजना गरिएको छ । कक्षा २ देखि ९ सम्मका विद्यार्थीका लागि दुई फरक–फरक सत्रमा शुक्रबार  कार्यशाला आयोजना गरिएको हो ।

कार्यशालामा लेखक तथा उत्प्रेरक–वक्ता श्रीश भण्डारीेले सिर्जनात्मक लेखनका तौरतरिकाहरूबारे विद्यार्थीलाई सविस्तार अवगत गराउनु भएको थियो । उहाँले बालबालिकालाई कसरी आफ्नो कल्पनाशीलता बढाउने र सोचको दायरा फराकिलो पार्ने भन्नेबारे जानकारी गराउनु भयो ।

बालसाहित्यकार यमुना पराजुली अधिकारीले कथा लेखनबारे प्रशिक्षण दिनुका साथै आफ्नै कृतिहरूबाट कतिपय कथाहरू वाचन गरेर सुनाउनुभएको थियो । कार्यशालका सहभागी विद्यार्थीहरूले पनि कथा वाचन गरेका थिए ।

उक्त अवसरमा विद्यालयका प्रिन्सिपल श्रीराम दाहालले कार्यशालाको नतिजाका रूपमा प्रत्येक विद्यार्थीलाई एक एक वटा कृति तयार पार्न प्रेरित गरिने बताउनुभयो । “तपाईंहामी प्रत्येकमा अरु धेरै संभावनाहरू भएजस्तै एउटा लेखक बन्न सक्ने संभावना पनि रहेको हुन्छ,” विद्यार्थीहरूलाई हौस्याउँदै उहाँले भन्नुभयो, “तपाईंहरूले अहिलेदेखि नै आफूलाई अभ्यस्त गराउँदै जानुभयो भने त्यो संभावना अवश्य उजागर हुनेछ ।” कार्यक्रममा विद्यालयका एकेडेमिक डाइरेक्टर, कोअर्डिनेटर र शिक्षक–शिक्षिकाहरूको समेत सहभागिता थियो ।

नानीबाबुअनलाईन
थप जानकारी