अष्ट्रेलियाको क्विन्सलेन्ड भित्र थुप्रै मानव निर्मित तलाउ छन् । ब्रिसबेन सहरको बीचबाट बगेको ब्रिसबेन नदी पनि मानव निर्मित हो । यो नदीले ब्रिसबेनलाई सुन्दर मात्र बनाएको छैन, वातावरणीय रूपमा पनि धेरै लाभ पुर्याएको छ । क्विन्सलेन्ड भित्रका मानव निर्मित तालमध्ये ब्रिसबेन सिटी काउन्सिल अन्तर्गतको फरेस्ट लेक पनि एक हो । अब हामी यही तालबारे चर्चा गर्नेछौं ।

दुई हजार दुई सय सत्तरी एकड जग्गामा फैलिएको यो फरेस्ट लेक तलाउको सन् १९९४ मा उद्घाटन भएको हो । सरदर ३७ फिट गहिरो यो ताल हेर्दा यसलाई मानिसले नै बनाएको हो भन्न मुस्किल पर्छ । ब्रिसबेन शहरको दक्षिण–पूर्वमा पर्ने यो तालमा ३ लाख १० हजार क्युबिक मिटर पानी अट्छ ।
सन् २०१६ को जनगणना अनुसार यो फरेस्ट लेक वरिपरिको शहरमा मात्र २२ हजार ९ सय ४ मानिस बस्दछन् । यो ताल आकासबाट हेर्दा अक्टोपस जस्तै देखिन्छ । यही तालको नामबाट नै यहाँको वस्तीको नाम फरेस्ट लेक राखिएको हो । फरेस्ट लेकलाई एक फन्को लगाउन २.५ कि.मि. दूरी तय गर्नु पर्छ । यसका लागि करिब ३० देखि ४० मिनेट समय लाग्छ ।
यो तालको वरिपरी घुम्न साइकल यात्रुका लागि समेत पुग्ने फराकिला ट्रेल छन् । वरिपरीबाट तालको यात्रा गर्न कार र बसको सुविधा पनि उपलब्ध छ । ब्रिसबेन शहरबाट आउने बसका प्रतीक्षालयहरू तालको वरिपरी ठाउँ ठाउँमा देख्न सकिन्छ ।


ताल वरिपरी हिड्ने ट्रेलको ठाउँ ठाउँमा आराम गर्नका लागि कतै बेन्च त सेड छन् । कतै बस्ने डेकहरू र पिकनिक टेबल राखिएका छन् । राष्ट्रिय र स्थानीय पर्वहरूमा फायरवर्क हेर्न, मेला भर्न र नाचगान गर्न स्थानीयहरू निकै रुचाउँछन् । त्यस्ता अवसरहरूमा रातभर झिलिमिली उज्यालोको व्यवस्था छ । मेला पर्वहरूमा सामान्य समयमा भन्दा धेरै शौचालय आवश्यकता पर्ने भएकाले घुम्ती शौचालयहरूको समेत व्यवस्था गरिएको हुन्छ ।
वरिपरी र ताल भित्र थुप्रै प्रकारका जलचर, स्थलचर र उभयचर जन्तु जनावर एवं चरा चुरुंगी हेरेर आनन्द लिन सकिन्छ । कछुवा, माछा, हाँस, रजहाँस, बकुल्ला, ककतुवा, रंगी बिरंगी सुगा, सारौं, कौवा, म्यागपाई, जंगली टर्की, परेवा, मलेवा लिजार्डलगायत धेरै राम्रा, मायालु चराचुरुंगी र जंगली जन्तु जनावर पाइन्छन् । यहाँ बहुजातीय वनस्पतिका साथै बेला बेलामा रंग बदल्ने रुख र थरी थरीका फूल फुल्ने बिरुवाहरू छन् । मानव निर्मित तलाउको सुन्दरताका लागि वाटर फाउन्टेन पनि राखिएको छ । फाउन्टेन चलाउन ड्रागनको मुख र जुरोबाट हरहमेसा पानि रिसाइक्लिंङ् भइरहन्छ ।


यी सबै सुविधाले यहाँ आउने जोसुकैको मन एकदमै आकर्षित गर्छ । बालबालिकाहरू त अझ धेरै रमाइरहेका हुन्छन् । भौगोलिक रूपमा यो ठाउँमा गर्मी हुने भए पनि विभिन्न प्रकारका रूखका छहारी र तलाउको चिसो हावाले यहाँ शीतल महसुस हुन्छ ।
फरेस्ट लेक वरिपरी बालबालिकाहरूलाई खेलाउने थुप्रै पार्क छन् । त्यस्ता पार्कहरूमा स्लाइडिङ, रक क्ल्याम्बिङ, नेट क्ल्याम्बिङ, ब्यालेन्सिङ आदिका सुविधा छन् । मंकिबार र लुकामारी खेल्ने ठाउँ छन् । थुप्रै आधुनिक उपकरणसहित उफ्रने र दौडने सुरक्षित ठाउँहरू छन् । पिउने पानीका पर्याप्त धारा र शौचालयहरू छन् । अस्ट्रेलियाका प्रायः सबै क्षेत्रमा यस्ता पार्क तलाउ नभएका ठाउँमा पनि हरेक समुदायका बस्तीभित्र ३०–४० घरको बीचमा पर्नेगरी बनाइएका हुन्छन् ।


त्यो ताल वरिपरी घुम्न जाँदा हरेक दिन त्यहाँ हिड्नेहरूको ताँती भेटिन्छ । शनिबार र आइतबार अझै धेरै मानिस आउँछन् । वरिपरिका वासिन्दा फुर्सद पाउने वित्तिकै समयानुकूल पोशाकमा हिँड्न आइरहेका हुन्छन् । कतिपय समूह त एकै रंगका मौसम अनुसारका लुगामा सजिएर गफिँदै हिडिरहेका देखिन्छन् । कोही योग गरिरहेका त कोही अन्य शारीरिक व्यायाम गरिरहेका हुन्छन् । यो फोरेस्ट लेक प्रकृतिमा रमाउन चाहनेका लागि उत्तम गन्तव्य हो । त्यसैले त बिहान सबेरैदेखि राति अबेरसम्म पनि यहाँ मानिसहरू हिडीरहेका हुन्छन् । यहाँ बेला बखत बोटिङ् र वाटर साइक्लिंङ गर्ने सुविधा पनि उपलब्ध हुने गर्छ । ताल वरिपरी भने जुनसुकै बेला पनि नियममा रहेर साइक्लिङको मजा लिन सकिन्छ । चिनियाँ मूलका वासिन्दाले उनीहरूको विशेष पर्वमा डुंगा सहितको मेला लगाउँछन् ।


अष्ट्रेलिया सरकारको स्थानीय निकाय (काउन्सिल)ले फरेस्ट लेक मर्मत सम्भार र परिचालनमा मात्र नभई थप सुबिधा दिलाउन पनि पहल गरिरहेको हुन्छ । हप्ताको एक दिन ताइचीबाट लाभ उठाउन चाहनेले आएर निःशुल्क रूपमा सिक्ने र अभ्यास गर्ने गर्छन् । ताइचीका उपकरणहरू पनि उपलब्ध छन् । ताइची सिकाउने सहजकर्तालाई काउन्सिलले नै सेवा शुल्क तिर्छ । कसै कसैले निशुल्क योग सिकाउने गरेको देखिन्छ ।राष्ट्रिय पर्वहरू र कहिलेकाँही हुने गाना बजानाको कार्यक्रमले यहाँ झनै मनोरञ्जन थपिरहेको हुन्छन् । विशेष कार्यक्रम हुँदा आम जनसमुदायका लागि पहिल्यै सूचना जारी हुने गर्छ । त्यस्ता अवसरमा आइसक्रिम, पिज्जा, लगायतका धेरै प्रकारका परिकार बिक्री गर्नेहरूको उपस्थिति पनि बाक्लै हुने गर्छ ।
यो तालको वरिपरी धेरै ठाउँमा पिकनिक गर्ने सुबिधा छ । यस्ता ठाउँमा बालबालिका खेल्ने उपकरण सहितका सुबिधा छन् । हरेक पिकनिक स्थल नजिकै फोहोर फाल्ने बिन, बार्बिक्यु गर्ने ओभेन अर्थात् चुलोको सुबिधा छ । कुकुरलाई पानी खुवाउने र उसका विष्टा विसर्जन गर्ने बिन र प्लास्टिकका थैलासमेत उपलब्ध छन् ।
यो ठाउँमा जन्म दिन मनाउने थुप्रै परिवार आउने गर्छन् । बेबीसावर गर्नेहरूका लागि पनि यो उपयुक्त थलो हो । कसै कसैले त यहाँको रमणीयतालाई विवाह गर्ने राम्रो ठाउँको रूपमा समेत लिने गरेका छन् । कुनै जोडीले आफ्नो हुनेवाला वच्चाको लिङ्ग घोषणा गर्ने स्थानका रूपमा पनि यसलाई छान्ने गरेका छन् । यी सबै सुविधा देख्दा यो ताल निकै गहन सोच र दीर्घकालीन दृष्टिबाट गरिएको काम हो भन्न सकिन्छ ।


हाम्रो आफ्नै मुलुक नेपालमा पनि केन्द्र वा स्थानीय सरकारले यस्तै ताल तलैया बनाउन सके शहर त सुन्दर हुने नै थियो त्यस क्षेत्रमा वस्ने मानिसको स्वास्थ्यमा पनि गुणात्मक सुधार हुने थियो । काठमाडौँ उपत्यकामा पहिले पहिले थुप्रै पोखरीहरू बनाइएका थिए । रानी पोखरी नागपोखरी, कमलपोखरी आदि यसैका उदाहरण हुन् । भक्तपुर र ललितपुरमा पनि यस्तै पोखरीहरू बनाइएको थियो । तराईका बजार नजिक धेरै तालतलैया बनाइएको थियो । तर पछि ती मासिए । त्यहाँका जमिन अतिक्रमण गरियो । त्यस्ता ताल र पोखरीले सुख्खा याममा खेतिबारीमा सिँचाई गर्न मात्र होइन, शहरभित्र आगलागी हुँदा घर वस्ती बचाउन पनि सघाउँथे । जमीनमुनिको पानी भरणमा अझ महत्वपूर्ण योगदान हुने थियो । अहिले पनि त्यो सम्भावना छँदैछ ।
हाम्रा सरकारहरूले चाहने हो भने काठमाडौं उपत्यकामा रहेका बाग्मती, मनहरा, विष्णुमती, धोबीखोला, हनुमन्ते कर्मनासा र नख्खु नदीका किनाराका अतिक्रमित क्षेत्रमा यस्तै सुन्दर वातावरण सिर्जना गर्न सक्छौं । परीक्षणको रूपमा एउटा नदीमा काम सुरु गरेपछि अरुमा पनि त्यसको सिकाइ अनुकरण गर्न सकिन्छ । अनि हुँदैनथ्यो त हाम्रो सहर सुन्दर ?

तस्बिरहरु : लेखक 

श्रीधर लामिछाने
थप जानकारी