कवि तथा बालसाहित्य लेखक शान्ति सापकोटाको नयाँ कथासंग्रह ‘मङ्की माइन्ड’ बजारमा आएको छ । साझा प्रकाशनबाट प्रकाशित उक्त कथासंग्रह शनिबार बालवाङ्मय तथा अनुसन्धान केन्द्रद्वारा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद सदस्य कौशिला रिसाल, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति केके कर्माचार्य, प्राज्ञ अगिब बनेपाली, प्रा.डा. तारानिधि भट्टराई, कथाकार सिर्जना शर्मा, केन्द्र अध्यक्ष अनन्त वाग्ले तथा लेखक शान्ति सापकोटालगायतले सामूहिक रूपमा उक्त कृतिको विमोचन गर्नु भएको हो । संग्रहमा १० किशोर कथाहरू रहेका छन् ।

विमोचन समारोहमा बोल्दै प्राज्ञ कौशिला रिसालले आधुनिक प्रविधिका कारण किशोरकिशोर मानवीय सम्बन्धबाट टाढिँदै गएकाले तिनका विषयमा साहित्यकारहरूले गम्भीर भई कलम चलाउनु पर्ने बताउनुभयो । उहाँले भन्नु भयो, “प्राइभेसीका नाममा किशोरकिशोरी बढी एकान्तप्रिय भइरहेका छन् र यसले सामाजिक समस्याकै रूप लिँदै गएको छ । साहित्यमार्फत उनीहरूलाई सिर्जनात्मक काममा प्रेरित गर्नु हामी सबैको कर्तव्य हो ।”

अर्का वक्ता नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति केके कर्माचार्यले किशोर पुस्तालाई सहज मार्गनिर्देशनका लागि किशोरलक्षित साहित्य अति आवश्यक रहेको बताउनु भयो । यसैगरी कथाकार सिर्जना शर्माले शान्ति सापाकोटाका कथाहरूमा किशोरीहरूका मनोदशालाई राम्ररी केलाइएको बताउनु भयो ।

समालोचक केशरी अमागाईंले कथाहरूले किशोरका मनोभावना समेटेको र अधिकांश कथाहरू प्रेमको सेरोफेरोमा केन्द्रित रहेको बताउनु भयो । उहाँले संसारमै किशोरसाहित्यको विकास अवधि खासै लामो नभएकोले यस विधामा पुस्तक कमी रहेकाले लेखकहरूले यसतर्फ ध्यान दिनुपर्ने बताउनु भयो ।

पुस्तकको समीक्षा गर्दै लक्षित पाठकहरूको प्रतिनिधिका रूपमा कक्षा ८ की छात्रा तपस्या वाग्लेले ‘मङ्की माइन्ड’ मा हुर्किरहेका किशोरीहरूप्रति समाजले तथा परिवारले हेर्ने दृष्टि, उनीहरूप्रति हुने दुव्र्यवहारलगायतका मनोवैज्ञानिक विषयहरूलाई कथामा प्रस्तुत गरेको बताउनुभयो ।

‘मङ्की माइन्ड’ का लेखक शान्ति सापाकोटाले आपूmले आफ्ना किशोरकालीन अनुभवहरूसमेत समेट्दै किशोर मनका विषय र उनीहरूले दैनिक भोगिरहेका समस्याहरूलाई कथाको रूपमा प्रस्तुत गर्ने कोशिश गरेको बताउनु भयो ।

केन्द्रका सल्लाहाकार प्रा.डा.तारानिधि भट्टराईले स्वागत गर्नुभएको विमोचन कार्यक्रममा उपाध्यक्ष मञ्जु ज्ञवालीले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने सभाको सञ्चालन सचिव एवम् नाट्यकर्मी केदार श्रेष्ठले गर्नु भएको थियो । समारोह केन्द्र अध्यक्ष अनन्त वाग्लेको सभापतित्वमा भएको थियो ।

नानीबाबुअनलाईन
थप जानकारी