रुस साहित्यमा समृद्ध देश हो । यहाँको साहित्यबाट प्रभावित लेखक, कवि र पाठकहरू संसारभरी रहेका छन् । बालसाहित्यमा पनि रुस धनी छ । यही रुसी बालसाहित्यको एक कथा हालै मात्र नेपाली भाषामा आएको छ ।

तमारा पात्योम्किनाको कथा ‘अन्तर्वार्ता’लाई रुस राम्ररी चिनेका लेखक रामविन्दु श्रेष्ठले नेपालीमा ल्याएका हुन् । चौतारी प्रकाशनको यस पुस्तकमा एउटा जिराफको यथार्थ कथा छ । पुस्तकमा दीर्घ आयु बाँचेर जीवनका अनेक आरोह अवरोह व्यहोरेको उक्त जिराफले आफ्नो कथा आफैँ बताएको छ । उक्त कथा जिराफले एउटा भँगेरालाई अन्तर्वार्ता दिने क्रममा बताएको हो ।

त्यो जिराफको नाम सामसन ह्यामलेटोविच लेनिनग्राडोभ हो । त्यो जिराफ सामान्य नभएर विशेष थियो, जसले दुई वर्ष अघि तीसौँ जन्मदिन मनाएको थियो । जिराफले तीसौँ जन्मदिन मनाउनु भनेको मानिसको सय वर्ष जस्तै हो । लेनिनग्रादको चिडियाखानामा बस्ने उक्त जिराफले ब्लगर भँगेराले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा आफ्नो जीवनकथा रोचक ढङ्गले बताएको छ ।

यसबाट पाठकले जिराफका बारेमा धेरै जानकारी हासिल गर्न सक्छन् । जस्तै, जिराफले चौध महिनासम्म गर्भमा राखेपछि मात्र बच्चा जन्माउँछ । कथावाचकका रूपमा जिराफले यहाँ आफ्नो कथा मात्र भनेको छैन, चिडियाखानाको बारेमा पनि बताएको छ । अझ लेनिनग्राद शहरको भूगोल, इतिहास र त्यहाँका विभिन्न घटनाक्रम र परिवेशको सुन्दर वर्णन पनि गरेको छ ।

मानिसको जस्तै भावमा जनावरले बताएको कथाले धेरै ठाउँमा बाल पाठकमा संवेदना पनि भर्छन् । जस्तै जिराफले एक ठाउँमा भन्छ, “हामी खुर हुने प्राणीका लागि हातखुट्टा भाँचिनु भनेको लगभग जीवनको आशा टुट्नु जस्तै हो ।” सुन्दर र सरल भाषामा रहेको कथाको प्रवाह पठनीय छ । थोरै पात्र, परिवेशको आकर्षक वर्णन, अनि रमाइला जानकारी पुस्तकका विशेषता हुन् ।

अनुवाद मार्फत यस पुस्तकबाट लेखक रामविन्दु श्रेष्ठले नेपाली बालसाहित्यमा एक स्वागतयोग्य कर्म गरेका छन् । पुस्तकमा रहेका यथार्थ तस्बिरले कथालाई झन् रोचक बनाएका छन् । अनुवादकले भनेजस्तै बालबालिकाको मनमा सबैप्रति दया, करुणा र प्रेम भर्नु आजको आवश्यकता हो । विश्व शान्ति र समृद्धिका लागि यो अति आवश्यक पनि छ ।

यो पुस्तकले साच्चै बाल मनमा मानवीय संवेदना विकास गर्ने अपेक्षा गर्न सकिन्छ । एकतीसौँ जन्मदिनको दुई साता अघि मृत्यु भएको जिराफसँग मानिसको सम्बन्ध पनि दया र करुणाको उदाहरणको रूपमा रहेको छ ।

पुस्तकः अन्तर्वार्ता (रुसी बालकथा)

लेखकः तमारा पात्योम्किना

अनुवादकः रामविन्दु श्रेष्ठ

प्रकाशकः चौतारी प्रकाशन, काठमाडौं

मूल्यः रु. १५०

नानीबाबुअनलाईन
थप जानकारी