
काभ्रेको बनेपा –४ नालास्थित स्प्रिङ हिल्स स्कुलले गत शनिवार वार्षिकाेत्सव तथा अभिभावक दिवस– २०८१ भव्य रुपमा सम्पन्न गरेको छ। वरिष्ठ मुटु विशेषज्ञ प्राध्यापक डा. राजेन्द्र कोजुको प्रमुख आतिथ्यतामा आयोजना गरिएको उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा काठमाडौं विश्वविद्यालयको स्टुडेन्ट वेल्फेयर डिरेक्टोरेटका निर्देशक डा. गोकुल केसी एवं वेदान्त एकेडेमीका निर्देशक दीपक बास्कोटा हुनुहुन्थ्यो ।


विद्यालयको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूले विभिन्न विषयअन्तर्गत शिक्षण सिकाइका क्रममा निर्माण गरेका शैक्षिक सामग्रीहरू प्रदर्शन गरेका थिए । विद्यालयले कक्षा १ देखि ९ सम्म लागू गरेको क्याप स्टाेन प्राेजेक्ट अन्तर्गतका सिकाइ गतिविधिहरूलाई समेत प्रदर्शनीमा राखिएको थियो। विद्यार्थीहरूले स्काउटमा आफूले सिकेका सीपहरू प्रदर्शन गर्ने क्रममा विभिन्न किसिमका क्याम्पसम्बन्धी गतिविधिहरू प्रदर्शन गरेका थिए।
समारोहमा स्वागत मन्तव्य राख्दै विद्यालयका प्राचार्य सुन्दर बुढाथोकीले विद्यालय शिक्षण सिकाइका गतिविधि र उपलब्धिहरूको प्रतिवेदन पेश गर्नुभएको थियो। विद्यार्थीहरूद्वारा प्रस्तुत नृत्य, गीत–संगीत एवं अन्य कलाहरूको प्रशंसा गर्दै कार्यक्रमका प्रमुख अतिथिले सम्पूर्ण उपस्थित अभिभावक एवं विद्यार्थीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो।
विद्यालयका सल्लाहकारहरू श्रीराम भण्डारी र रामहरी बुढाथोकीले मन्तव्यका क्रममा आगामी दिनमा अझ धेरै सीप र व्यवसाय केन्द्रित शिक्षामा जोड दिई विद्यार्थीलाई आफ्नै देशमा प्रगति गर्न सकिन्छ भन्ने सन्देश छाड्न विद्यालय परिवारलाई सुझाव दिनुभएको थियो । विशेष अतिथि दीपक बास्कोटाले विद्यार्थी भाइबहिनीहरूलाई सक्षम नागरिकका रूपमा परिवर्तन गर्न विद्यालय, विद्यार्थी, शिक्षक र अभिभावकको भूमिका कस्तो हुनुपर्छ भन्ने कुरामा प्रकाश पार्नुभएको थियो।


अभिभावक प्रतिनिधिका रुपमा रोशन श्रेष्ठले आफ्ना नानीबाबुहरूको वृत्तिविकासका लागि विद्यालयले गरेका कार्यहरूको प्रशंसा गर्दै यस्ता काम आगामी दिनमा अझ स्तरीय ढङ्गले अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो। विद्यालयले विद्यार्थीहरूलाई संस्कारयुक्त शिक्षा प्रदान गर्न गरेको प्रयासको पनि उहाँले कदर गर्नुभएको थियो।
कार्यक्रममा विद्यालयबाट २०८० सालको एसइई परीक्षामा सामेल भई उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीलाई सम्मान गरिएको थियो। २०८१ सालकै राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा उत्कृष्ट नतिजा ल्याई उत्तीर्ण भएका कक्षा १२ का विद्यार्थीलाई पनि सम्मान गरिएको थियो।
विद्यालयको वार्षिक खेलकुद सप्ताहमा विभिन्न खेलकुदमा सहभागी भई प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरू र उनीहरूको समूहलाई पदक तथा प्रमाणपत्रद्वारा प्रमुख अतिथि एवं अतिथिहरूबाट पुरस्कृत गरिएको थियो । शैक्षिक सत्र २०८१ को उत्कृष्ट ‘वर्ष–विद्यार्थी’को उपाधि कक्षा १० मा अध्ययनरत जेलिना श्रेष्ठलाई प्रदान गरिएको थियो।
कार्यक्रममा विद्यालयका विभिन्न तहका उत्कृष्ट शिक्षक एवं कर्मचारीहरूलाई समेत सम्मान गरिएको थियो। उक्त अवसरमा कक्षा ११ र १२ का विद्यार्थीले फुड फेस्टिवल आयोजना गरेका थिए । फेस्टिवलमा विभिन्न प्रकारका खानाका परिकारहरू तयार पारी अभिभावक एवं विद्यार्थीहरूलाई पस्किएको थियो।
प्रतिक्रिया दिनुहोस्