कथाकार हरि ढकालको पहिलो कथाकृति ‘महाप्रश्न’ शनिबार राजधानीमा सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा साहित्यकारहरू नारायण ढकाल, बिना थिङ, हरिहर तिमिल्सिना, श्रीश भण्डारी, लेखनाथ न्यौपाने र कथाकार ढकाल लगायतले कथासङ्ग्रह लोकार्पण गरेका हुन् । सङ्ग्रहमा सामाजिक तथा राजनीतिक चेतनायुक्त ११ कथा सङ्ग्रहित छन् ।
विमोचन लगत्तै आयोजित विमर्शमा अग्रणी साहित्यकार नारायण ढकालले ‘महाप्रश्न’ कथासङ्ग्रहले नेपाली समाजको करिब आधा शतक यताका सामाजिक र राजनीतिक विसङ्गतीहरूमाथि विवेकसम्मत प्रश्नहरू उठाएको बताउनुभयो । उहाँले लेखकलाई यति मात्रै कथामा सीमित नहुन सुझाव पनि दिनुभयो ।
कथाकार बिना थिङले नेपाली आख्यान जगत्मा नयाँ स्रष्टा थपिएकोप्रति खुशी व्यक्त गर्दै कथाका संझनायोग्य पात्र र परिवेशहरूबारे चर्चा गर्नु भएको थियो । साहित्यकार एवं कथा सङ्ग्रहका सम्पादक हरिहर तिमिल्सिनाले कृति प्रकाशन अघिका सन्दर्भहरू प्रस्तुत गर्दै यी कथाहरू नयाँ पुस्ताले पनि पढ्नुपर्ने बताउनुभयो । पुस्तक विमर्शको सहजीकरण गर्दै लेखक तथा सम्पादक श्रीश भण्डारीले आम स्रष्टाहरूको सिर्जना र व्यवहारवीच देखिने विरोधाभाषको चिरफार गर्नुपर्नेमा जोड दिनुभयो । यसअघि लेखक तथा अध्येता लेखनाथ न्यौपानेले पनि यस्तै धारणा राख्नु भएको थियो ।
कथाकार ढकालले कृति पढेर पाठकहरूले दिने आलोचना र हौसला दुबै आफूलाई शीरोधार्य भएको बताउनुभयो । १७४ पृष्ठको यो कथासङ्ग्रह इटर्नल पब्लिकेसन प्रा.लि.ले बजारमा ल्याएको हो । किताबको मूल्य ५५० रूपैयाँ रहेको छ ।

















प्रतिक्रिया दिनुहोस्