लेखक एवं गेटवे अक्याडमीका प्राचार्य आर्डी भट्टको पहिलो पुस्तक ‘केटो’ सोमबार काठमाडौंमा लोकार्पण गरिएको छ ।

काठमाडौं–३२, पेप्सीकोलास्थित गेटवे अक्याडमीको प्राङ्गणमा आयोजित समारोहमा प्याब्सन, फेकालगायत शैक्षिक संस्थाहरूमा आबद्ध बिभिन्न विद्यालयका प्रिन्सिपलहरू, नियात्राकार प्रतीक ढकाल, सम्पादक श्रीश भण्डारी र लेखक आर्डी भट्टलगायतले पुस्तक लोकार्पण गरेका हुन् ।

लोकार्पण समारोहलाई सम्बोधन गर्दै नियात्राकार ढकालले ‘केटो’ किताब लेखकको बाल्यावस्थाको संस्मरण र कल्पनाशीलताको समिश्रण भएको बताउनुभयो । यो पुस्तक निम्न माध्यमिक र माध्यमिक तहका विद्यार्थीहरूका लागि एकदमै उपयोगी रहेको उहाँले बताउनुभयो ।

प्याब्सन बाग्मती प्रदेशका अध्यक्ष थकिन कुमार गुरूङ्ले ‘केटो’ पुस्तकबाट आजका बालबालिकाले आजभन्दा ४ दशक अघि नेपालको सुदूरपश्चिम क्षेत्रका बालबालिका के कस्तो समाज र परिवेशबाट गुज्रिएका थिए भन्ने बुझ्न सक्ने बताउनुभयो ।

सम्पादक भण्डारीले अहिले विकसित हुँदै गएको पठन संस्कृतिलाई अब सुपठन–संस्कृतिमा ढाल्दै लैजानुपर्ने आवश्यकता औल्याउनुभयो । “विद्यार्थीलाई केवल पुस्तक पढ मात्र भन्नुभन्दा पनि उनीहरूका लागि सही पुस्तक ठम्याउन विद्यालय, शिक्षक र अभिभाव सबैले मद्दत गर्नु आवश्यक छ,’ उहाँले भन्नुभयो, “यस सन्दर्भमा केटो ढुक्कैले पढ भन्न सकिने किताब हो ।”

ईटर्नल पब्लिकेसन प्रा.लि.ले प्रकाशन गरेको २०० पृष्ठको यो किताबको मूल्य ४३० रूपैँया छ । कार्यक्रममा गेटवे अक्याडमीकै एक छात्रा र एक छात्रले केटो पुस्तकको अंशहरू वाचन गरेका थिए ।

लेखक भट्टले आफ्नो बाल्यावस्थाको भोगाई, अनुभव र संझनाहरूलाई समेटेर अनि त्यसैमा कल्पनाको थोरै जलप लगाएर यो कृति तयार पारेको बताउनुभयो । उहाँले पुस्तक लोकार्पण समारोहमा उपस्थित हुनुभएका तथा उपस्थित हुन नपाउनुभएका सबै शुभेच्छुप्रति कृतज्ञता जनाउनुभयो ।

बाल साहित्यकार तथा ईटर्नल पब्लिकेसन प्रा.लि.की प्रवन्ध निर्देशक यमुना पराजुली अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्याब्सन केन्द्र तालिम विभाग प्रमुख एवं अक्षरा स्कुलका संस्थापक/निर्देशक अञ्जु भट्टराई, फेकाका सचिव तथा एनएमई स्कुलका प्रिन्सिपल राजु दाहाललगायतले लेखक भट्टलाई उहाँको लेखन यात्राका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो । सभापति अधिकारीले लेखक भट्टलाई प्रकाशकका तर्फबाट सम्मान–पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन रञ्जना पोख्रेलले गर्नुभएको थियो ।

नानीबाबुअनलाईन
थप जानकारी