
के तपाईंले प्रगतिशील शिक्षाबारे जानकारी हासिल गर्नु भएको छ ? छैन भने आउनुस् आज यसबारे केही बुझौं ।
प्रगतिशील शिक्षा एउटा यस्तो अवधारणा हो जसले बालबालिकालाई परम्परागत शिक्षण पद्धतिभन्दा फरक तरिकाले पढाउनुपर्छ भन्ने मान्यता राख्छ । यो अवधारणा अनुसार विद्यार्थीलाई परम्परागत शिक्षण पद्धतिमा जस्तै केवल जानकारी दिने वा घोकाउने काम मात्र गर्नु उचित होइन । शिक्षाको अर्थ जानकारी पाउनु मात्र होइन बरु विद्यार्थीको आत्मनिर्भरता, आलोचनात्मक सोच र समाजप्रतिको उत्तरदायित्व बुझाउनु हो भन्ने मान्यता नै प्रगतिशील शिक्षाको आधारभूत मान्यता हो ।
जोन ड्युबी लगायतका शिक्षाशास्त्रीहरूले विकास गरेको यो अवधारणाले २० औं शताब्दीमै व्यापक प्रभाव पारेको थियो । नेपालमा भने यो अवधारणा पछिल्ला दशकमा मात्रै लागू हुन थालेको छ । हाम्रा अधिकांश विद्यालयहरूमा अझै पनि घोक्ने, कण्ठ गनेृ वा रट्ने प्रवृत्तिलाई नै प्राथमिकता दिइन्छ ।
यदि हाम्रो शिक्षा प्रणालीलाई सुधार गरेर यस किसिमको समावेशी र व्यावहारिक शिक्षण पद्धति लागू गरियो भने, विद्यार्थीहरूको सिर्जनशीलता, निर्णय क्षमता र समाजमा योगदान दिने क्षमता उल्लेखनीय रूपमा वृद्धि गर्न सकिन्छ ।
१९ औं शताब्दीको अन्त्यतिर तीव्र औद्योगिकीकरणले संयुक्त राज्य अमेरिकामा प्रगतिशील युग (Progressive Era) को उदय भयो । महिलाहरूको मताधिकार र सबै बालबालिकाको अनिवार्य शिक्षाजस्ता महत्त्वपूर्ण सामाजिक तथा राजनीतिक सुधारहरूले शिक्षाविद्हरूलाई सिकाइ र शिक्षाशास्त्रको नयाँ तरिकाबारे सोच्न उत्प्रेरित गर्यो । उनीहरूको विश्वास थियो कि बालबालिका आफैँमा विवेकी हुन्छन् । त्यसैले उनीहरूलाई आफ्ना कुरा रटाउन हैन, भविष्यमा लोकतान्त्रिक समाजका सदस्यको रूपमा आफ्नो जिम्मेवारी बुझ्न सक्ने बनाउनु आवश्यक छ । यसका लागि परम्परागतभन्दा भिन्न प्रकारको विद्यालय शिक्षाको आवश्यकता छ भन्ने उनीहरूले महसूस गरे ।
पार्क स्कूलका प्रथम प्रधानाध्यापक यूजिन रान्डोल्फ स्मिथले शिक्षाको अवधारणालाई यसरी परिभाषित गरे, “शिक्षा त्यस्तो हुनुपर्छ जसले व्यक्तिलाई जीवन बुझ्न सहयोग गर्छ । चरित्र विकास गराउँछ । सोच्ने र कार्य गर्ने क्षमता प्रदान गर्छ । समृद्ध जीवन जिउन सक्ने बनाउँछ । आफ्नो क्षमताको बुद्धिमानीपूर्वक र पूर्ण उपयोग गर्न सिकाउँछ । अनि व्यक्ति समाजका लागि उपयोगी तथा रचनात्मक सदस्य बन्न सक्छ ।”
सन् १९१९ मा प्रोग्रेसिभ एजुकेशन एसोसिएसन स्थापना भयो जसले आफ्ना सिद्धान्तहरूलाई ७ बुँदामा परिभाषित गर्यो जुन निम्न अनुसार छन्–
१. बालबालिकाको स्वाभाविक विकास हुन पाउने स्वतन्त्रता: विद्यार्थीको आचरण उसको आफ्नै निर्णय र समाजको आवश्यकताअनुसार निर्देशित हुनुपर्छ । जबर्जस्ती लागू गरिएका नियमहरूद्वारा उनीहरूलाई बाधिनु हुँदैन । विद्यार्थीलाई स्वतन्त्र रूपमा प्रयोग गर्न सक्ने विविध सामग्री भएको रोचक वातावरणमा आत्म–अभिव्यक्तिको पूर्ण अवसर दिइनुपर्छ ।
२ बालबालिकाको अभिरुची नै सिकाइको प्रमुख प्रेरणा : विद्यार्थीको रुचि वा चासोलाई नै सिकाइको प्रमुख प्रेरणा मान्नुपर्छ । त्यसका लागि विद्यार्थीहरूलाई सिकाउँदा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा समाज तथा विश्वका गतिविधिहरूसँग सम्पर्क राखेर प्राप्त अनुभवको प्रयोग गर्नुपर्छ । आर्जित ज्ञानको व्यवहारिक प्रयोग र विभिन्न विषयहरूबीच सम्बन्ध स्थापना गर्नुपर्छ । साथसाथै उनीहरूमा प्राप्त उपलब्धिहरूबारे चेतना जागृत गराउने कार्य पनि गर्नु आवश्यक छ ।
३ शिक्षक मार्गदर्शक, हुकुम दिने व्यक्ति होइन : प्रगतिशील शिक्षकहरूले विद्यार्थीहरूलाई सबै इन्द्रियहरूको प्रयोग गर्न अभिप्रेरित गर्छन् । उनीहरूलाई अवलोकन र निर्णय क्षमतामा प्रशिक्षित गर्छन् । शिक्षकहरूले केवल पाठ सुनाउने होइन, बरु विभिन्न स्रोतहरूबाट जानकारी लिन, त्यसलाई तर्कसंगत रूपमा विश्लेषण गर्न र स्पष्ट रूपमा अभिव्यक्त गर्न सिकाउने कार्यमा बढी ध्यान दिनुपर्छ । आदर्श शिक्षण वातावरणका लागि विशेष गरी प्रारम्भिक कक्षाहरूमा कक्षा सानो राख्नु आवश्यक छ ।
४ विद्यार्थीको वैज्ञानिक अध्ययन : विद्यालयका अभिलेखहरूमा विद्यार्थीको विषयगत प्रगति मात्र नभएर उनीहरूको शारीरिक, मानसिक, नैतिक र सामाजिक विशेषताहरूको वस्तुनिष्ठ तथा व्यक्तिपरक रिपोर्टहरू पनि समावेश गर्नुपर्छ । यसले विद्यार्थीको समग्र विकासमा ध्यान केन्द्रित गराउन मद्दत गर्छ ।
५ बालबालिकाको शारीरिक विकासमा ध्यान दिने : प्रगतिशील शिक्षाको पहिलो प्राथमिकता विद्यार्थीहरूको स्वास्थ्य हो । विद्यार्थीहरूलाई पर्याप्त खुला ठाउँ, राम्रो हावा र प्रकाश, सफा र राम्रोसँग हावा सञ्चार भएको भवन, बाहिरी वातावरणमा बढी समय बिताउने सुविधा, र खेलकुद क्षेत्रहरूको उपयोगको सुनिश्चितता हुनुपर्छ । शिक्षकहरूले विद्यार्थीको शारीरिक अवस्थालाई नजिकबाट अवलोकन गर्नुपर्छ र घरपरिवारसँग मिलेर उनीहरूको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुपर्छ ।
६ विद्यालय र परिवारबीच सहकार्य : विद्यालयले घरपरिवारसँग मिलेर खासगरी प्रारम्भिक कक्षाहरूमा, बालबालिकाको प्राकृतिक रुचि र गतिविधिहरूलाई ध्यानमा राखेर शिक्षण व्यवस्था गर्नुपर्छ । अभिभावक र शिक्षकहरूको बुद्धिमत्तापूर्ण सहकार्यबाट मात्र यसो गर्न सम्भव छ ।
७. प्रगतिशील विद्यालय—शैक्षिक आन्दोलनको नेतृत्वकर्ता : प्रगतिशील विद्यालयहरूले शैक्षिक सुधारको नेतृत्व गर्नुपर्छ । परम्परालाई मात्र अन्धाधुन्ध पछ्याउने होइन, नयाँ विचारहरूलाई पनि उत्तिकै अवसर दिनुपर्छ । विद्यालयले विगतका गरिएका उत्तम अभ्यासहरूलाई नयाँ खोजहरूसँग मिसाएर शिक्षामा योगदान दिने वातावरण तयार पार्नुपर्छ ।
यिनै अवधारणाहरूमा आधारित शिक्षा प्रणाली नै प्रगतिशील शिक्षा प्रणाली हो । हाम्रो मुलुकमा कस्तो शिक्षा प्रणाली उपयुक्त हो भन्नेबारेमा अझै पनि व्यापक विचार विमर्श हुन बाँकी नै छ । शिक्षाका नाममा कतै कमाउधन्दा मात्र चलिरहेको छ भने कतै मुस्किलले विद्यार्थी साक्षर बाउने काम मात्रै भएको छ ।
पछिल्ला वर्षहरूमा नेपालमा केही विद्यालयहरूले प्रगतिशील शिक्षा प्रणाली अपनाएका छन् । तर ती विद्यालयहरूको शुल्क निकै महँगो रहेको र सबैको पहुँचमा नभएको व्यापक गुनासो छ । प्रगतिशील शिक्षा प्रणाली परम्परागत शिक्षा प्रणालीभन्दा महँगो नै हुनपर्छ भन्ने केही छैन । उपलब्ध स्रोत साधन र जनशक्तिलाई सही ढंगले परिचालन गर्न सक्ने हो भने न्यून शुल्कमा पनि यस्तो शिक्षा दिलाउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्