रुसी लेखक अलेक्जेन्डर रस्किन आफ्नी छोरी बिरामी भएका बेला बाल्यकालमा आफैंले भोगेका सत्यकथा सुनाउँथे । त्यस क्रममा उनले यति धेरै कथा सुनाएछन् कि पछि गएर तिनै कथाबाट एउटा पुस्तक तयार गरे । ती कथाहरूमा उनी आफैंले भोगेका दुःख–सुख, हाँसो र रोदनहरू थिए । रस्किनकी छोरी कान दुख्ने समस्याबाट पिडीत थिइछन् । जव रात पथ्र्यो, सहनै नसक्ने गरि उनलाई कान दुख्थ्यो । त्यस्तो बेला रस्किन छोरीलाई प्रत्येक रात आफ्नै कथा सुनाउँथे । ती कथा सुन्दा सुन्दा पछि गएर उनी पुस्तक पढ्नमा यति रुचि राख्न थालिन् कि आफ्नाे उमेरभन्दा ठूला किताबहरूसमेत पत्तै नपाई छिचोल्न सक्ने भइन् ।

हामीले हाम्रा बालबालिका बिरामी परेका बेला उपचार त गराउँछौं नै साथसाथै उनीहरूको दिग्दारी हटाउन के यसरी नै कथाहरू सुनाउने गरेका छौ ? सायदै छैनौं । मैले देखेसम्म बिरामी बालबालिका यदि घरमै आराम गरेर बसेका छन् भने उनीहरूको हातमा प्रायः मोबाइल वा आइप्याड नै हुन्छ । म पनि यसबाट अछुतो छैन । तर यदि हामीले पनि रस्किनले जस्तै अभ्यास गर्ने हो भने सकिने त रहेछ नि ! यसले गर्दा बालबालिकामा आफूसँगको सामीप्य त बढ्न नै, फरक तरिकाले नयाँ कुराहरू सिक्ने अवसर पनि मिल्छ । बिरामी परेर सिथिल भएका आँखाले पनि आराम पाउँछन् । बाबाआमा छेउमै बसेर आफ्नै वा अरु जुनसुकै कथा वा अनुभवहरू सुनाइरहँदा उनीहरूमा थप हौसला र आत्मविश्वास जागृत हुन थाल्छ । बाबा आमाका आफ्नै उमेरका कथा सुन्न पाँउदा उत्साही नहुने बालबालिका को नै होलान् र ?

अहिले बालबालिकाहरूमा पठन संस्कृति विकास गराउन कतिपय विद्यालयले कक्षागत पाठ्यपुस्तक बाहिरका खास खास अतिरिक्त पुस्तक पनि अनिवार्य गरेका छन् । केही विद्यालयले यसलाई ऐच्छिक रूपमा लागू गरेका छन् । यसमा कतिपय अभिभावको धरणा भने अलि फरक पाइन्छ । उहाँहरू भन्नुहुन्छ, ‘कोर्स बाहिरका पुस्तक दिए बोझ मात्रै थपिन्छ । आफूभन्दा ठूला झोलाभित्रका किताब छिचोल्नु, गृहकार्य गर्नु अनि फेरि थप पुस्तक पनि पढ्नु ?’

एक प्रकारले उहाँहरूको यो तर्क पनि ठिकै हो । तर अर्को प्रकारले सोचौं त– कोर्सका किताब छिचोल्दा छिचोल्दा वाक्क भएको दिमाग नयाँ कुरा पाउँदा ताजा हुँदैन र ? फटाफट होमवर्क सकेर ईन्टरनेटमा अल्झिनुको सट्टा आफ्नो रुची वा फरक विषयवस्तुको किताब पढ्दा पक्कै फाइदा नै हुन्छ । यसले बालबालिकामा अध्ययनशील हुने बानी बस्छ । यस्तो बानी लगाउनमा हामी अभिभावककै मुख्य हात हुन्छ । बालमस्तिष्कलाई पहिलो आकार दिने हामीले नै हो । त्यसपछि हामी विद्यालयका शिक्षकलाई सम्झिन सक्छौ । साथी–संगतको पनि असर परिरहेकै हुन्छ ।

मैले लामोसमयदेखि चिनेको राजधानीको एक प्रतिष्ठित विद्यालयले प्रत्येक बिद्यार्थीलाई उसको जन्मदिनको दिन बिहानीको प्रार्थनाको समयमा उमेर अनुसारको एउटा पठनीय पुस्तक उपहार दिने गरेको छ । यसले पठन संस्कृति बसाल्नमा निकै मद्दत गरेको उक्त विद्यालयका प्राचार्यको अनुभव छ । यसरी बालबालिकालाई अतिरिक्त पुस्तकहरू दिंदा उनीहरूको उमेर, रुची, समय र पढाई वा कामको बोझजस्ता सबै पक्षहरूलाई ध्यान दिनु पर्छ । यस्तो नहोस् कि थप पुस्तक पढ्नु परेकै कारण बालबालिका बेखुशी होउन् ।

कतिपय अभिभावकले आफू हातमा मोबाइल चलाउनमै व्यस्त रहने अनि छोराछोरीलाई ‘कति मोबाईल मात्र चलाएको ? पढ्न बस्’ भन्दै हप्काउने गरेको पनि देखिन्छ । छोराछोरीलाई सिकाउनकै लागि भए पनि हामी आफैंले उनीहरूका अघिल्तिर बसेर पढ्ने बानी गर्नु पर्छ । किनभने हरेक बालबालिकाले हाम्रो भनाइलाई भन्दा ज्यादा हाम्रो गराइलाई अनुशरण गरिरहेका हुन्छन् ।

yamunaadhikari127@gmail.com

यमुना पराजुली
थप जानकारी