-रमेशचन्द्र घिमिरे

ओरालोमा झरी कैले उकालोमा चढी
नथाकेर घुम्छन् सधैँ घडीभित्र छडी

कान्छो भाइ जाँगरिलो छिटो फन्का मार्छ
अल्छी गर्छ माइलो भाइ खुट्टा ढिलो सार्छ
जेठो भाइ जैल्यै बस्छ टक्क अडी-अडी
तर आफ्नै सुरमा घुम्छन् घडीभित्र छडी

बाह्र वटै देशमा पुग्छन्, हेलो हाई गर्छन्
बाह्र बजे तिनै भाइ भेट्छन् मक्ख पर्छन्
यात्रा यिनको गज्जबको छ, हुन्न गडबडी
घुम्छन्, घुम्छन्, घुमिरहन्छन् घडीभित्र छडी

समयलाई चिन्नुपर्छ भन्ने पाठ पढौँ
हामी पनि यसरी नै अघि-अघि बढौँ
भोलि विद्वान् हुनुपर्छ आज धेरै पढी
मीठो सन्देश दिँदै घुम्छन् घडीभित्र छडी ।

– भोर्लेटार, लमजुङ
स्राेत साहित्य सङ्ग्रह