किताब नै किताबको दबाउँदैछ भारले
विवेक छिद्रिदै छ यो, चिरेर पृष्ठ-धारले ।
दिमाग बादलिन्छ वा, उडान भर्छ यो मन
विचारमा विकारको कतै सुनिन्छ गर्जन ।
खुला चरी बनि उडु? सिकाउदैछ उड्न को ?
उचाइ चुम्न भन्दछौ? छु माझ चक्रवातको ।
नसोध जाचका कथा, नसोध आज के भयो ?
छ द्वन्द आफू भित्र नै, नखोज अङ्क राश यो ।
स्वयम् छु प्रश्न चिह्नमा, विराम पूर्ण भेट्छु र ?
बिलाउँदैछ प्रश्न नै,कहाँ म खोजु उत्तर ?
अनेक सूर्य ढल्किए, ऋतु अनेक फेरिए
निरर्थ शब्द लाख ती विरक्ति साथ लेखिए ।
हजार बोझ ढाक्न यी, मुसुक्क विम्ब नक्कली
उठाउनु छ बाध्यता, दबाई भाव सक्कली ।
निशा गडेर नेत्रमा, विशाल कृष्ण दागको
अनेक छाप छापिँदा, मुहार हेर हर्षको !
म शब्दको छु पाशमा, मलाइ छैन आदत
हरेक पृष्ठ रट्नुको, भएर भित्र आहत ।
अचेत चेतना भयो, कति सहुँ प्रताडना ?
जलाउँ यी किताब कि, दवाउँ भित्र वेदना ?
– अनुष्ठान भण्डारी
कक्षा ११ केएमसी बागबजार ।


















प्रतिक्रिया दिनुहोस्