अपोलो ११ का बारेमा पढेपछि रिमाको मनमा अन्तरिक्षप्रति ठूलो उत्साह जागेको थियो । कक्षा ५ मा पढ्ने रिमा विज्ञान विषय धेरै मन पराउँथिन्। उनको कोठामा ग्रह, तारा र रकेटका चित्रहरू टाँसिएका थिए । राति आकाशमा चन्द्रमा देख्दा उनी लामो समयसम्म आकासमै हेरिरहन्थिन्।

एकदिन विद्यालयमा विज्ञान शिक्षक नील आर्मस्ट्रङ्गकाे बारेमा पढाउँदै हुनुहुन्थ्यो।

“सन् १९६९ मा मानिस पहिलोपटक चन्द्रमामा पुगेका थिए,” शिक्षकले भन्नुभयो, “त्यो अभियानको नाम अपोलो ११ थियो।”

रिमाले उत्साहित हुँदै हात उठाइन्।

“सर, चन्द्रमामा हावा हुन्छ कि हुँदैन?”

“हुँदैन,” सरले मुस्कुराउँदै भन्नुभयो, “त्यहाँ सास फेर्न अक्सिजन छैन। त्यसैले अन्तरिक्ष यात्रीहरूले अक्सिजन सहितको विशेष पोसाक लगाउँछन्।”

कक्षा सकिएपछि पनि रिमाका मनमा धेरै प्रश्नहरू घुमिरहे। घर पुगेपछि उनले आमालाई भनिन्, “आमा, म पनि ठूलो भएपछि वैज्ञानिक बन्छु।”

आमाले मायालु पाराले भन्नुभयो, “मेहनत गर्यौ भने तिमी अवश्य सफल हुन्छौ ।”

रिमालाई विज्ञानका सामान जोडेर नयाँ कुरा बनाउन धेरै रमाइलो लाग्थ्यो । केही दिनदेखि उनले एउटा सानो रोबोट बनाउँदै थिइन् । पुरानो खेलौनाको मोटर, तार र ब्याट्री प्रयोग गरेर उनले रोबोट तयार पारिन् । रोबोट सानो भए पनि दुरुस्तै देखिएको थियो।

“अब तिम्रो नाम टिकु,” रिमाले हाँस्दै भनिन्।

रोबोटको आँखाजस्तो भागमा सानो बत्ती बल्यो।

“नमस्ते रिमा,” रोबोटले रेकर्ड गरिएको आवाज निकाल्यो।

रिमा खुसीले उफ्रिइन् ।

“वाह! मेरो रोबोट बोल्न पनि सक्छ!”

त्यसदिनदेखि टिकु रिमाको सबैभन्दा मिल्ने साथी बन्यो । ऊ पढ्दा टिकु टेबलमा बसिरहन्थ्यो । टिकुले कहिलेकाहीँ गीत पनि बजाउँथ्यो।

एक रात रिमा अन्तरिक्षसम्बन्धी पुस्तक पढ्दै थिइन् । पुस्तकमा चन्द्रमाका ठूला खाल्डा, अन्तरिक्षयान र ताराबारे लेखिएको थियो । पढ्दापढ्दै उनको आँखा लाग्यो।

अचानक उनले आफूलाई एउटा ठूलो अन्तरिक्षयानभित्र देखिन्। वरिपरि चम्किला बत्ती बलिरहेका थिए। टिकु पनि सँगै थियो।

“रिमा, हामी चन्द्रमातर्फ जाँदैछौँ,” टिकुले भन्यो।

रिमाले अचम्म मान्दै सोधिन्, “साँचै ? यो सपना हो कि वास्तविक?”

त्यति नै बेला अन्तरिक्षयानको कम्प्युटर बोल्यो, “चन्द्रमामा अवतरण गर्न पाँच मिनेट बाँकी।”

झ्यालबाट हेर्दा ठूलो गोलो चन्द्रमा नजिकिँदै थियो । केही बेरपछि अन्तरिक्षयान बिस्तारै चन्द्रमाको सतहमा अवतरण गर्यो।

ढोका खुल्यो। रिमा र टिकुले विशेष पोसाक लगाएका थिए । बाहिर निस्कँदा चारैतिर सेतो धुलो र गहिरा खाल्डा देखिन्थे। आकाश भने कालो थियो।

“वाह! चन्द्रमा साँच्चै सुन्दर रहेछ,” रिमाले भनिन्।

उनीहरुले त्यहाँ नेपालको झण्डा गाडे ।

टिकु उफ्रँदै अगाडि बढ्यो।

“यहाँ गुरुत्वाकर्षण कम भएकाले हामी हलुका भएका छौँ।”

रिमाले सानो फड्को मारिन्। उनी धेरै माथिसम्म पुगिन्।

“यो त धेरै रमाइलो रहेछ!”

उनीहरू चन्द्रमाको सतहमा ढुंगा जाँच्दै हिँडिरहेका थिए । टिकुले एउटा चम्किलो ढुंगा उठायो।

“रिमा, यो नमुना पृथ्वीमा लगेर अनुसन्धान गर्न सकिन्छ।”

त्यत्तिकैमा टाढाबाट अनौठो चमक देखियो । टिकु उत्साहित हुँदै उता दौडियो।

“टिकु, बिस्तारै!” रिमा कराइन्।

तर केही क्षणमै टिकु आँखाबाट हरायो।

“टिकु!” रिमा डराउँदै चिच्याइन्।

“तिमी कहाँ छौ?”

तर कुनै आवाज सुनिएन। चारैतिर शान्ति मात्रै थियो। रिमाको मुटु ढुकढुक गर्न थाल्यो।

उनले हेलमेटभित्रको रेडियो चलाइन्।

“टिकु, जवाफ देऊ।”

केहीबेरपछि सानो संकेत आयो।

“बीप… बीप…”

रिमाले हातमा भएको रिमोट चलाइन् । यानको स्क्रीनमा एउटा निलो बिन्दु चम्किरहेको थियो।

“टिकु खाल्डोतिर रहेछ,” उनले पत्तो पाइन् ।

उनी सावधानीपूर्वक त्यतातिर अघि बढिन्। चन्द्रमाको जमिन उकालो–ओरालो थियो। एक ठाउँमा पुग्दा उनले गहिरो खाल्डो देखिन्। तल अन्धकार थियो।

अचानक तलबाट आवाज आयो, “रिमा! म यहाँ छु!”

रिमाले तल हेरिन्। टिकु खाल्डोमा अड्किएको थियो।

“ओहो ! तिमी ठीक छौ?” रिमाले चिन्तित हुँदै सोधिन्।

“म ठीक छु,” टिकुले भन्यो, “तर यहाँबाट माथि आउन सकिरहेको छैन।”

रिमाले यानबाट एउटा लामो डोरी निकालिन् र खाल्डोभित्र झारिन्।

“टिकु, बलियोसँग समात।”

टिकुले डोरी समात्यो। रिमाले बिस्तारै तान्न थालिन्। टिकु बिस्तारै माथि आइपुग्यो।

“धन्यवाद, रिमा,” टिकुले भन्यो।

रिमाले राहतको सास फेरिन्।

“म त धेरै डराएकी थिएँ।”

टिकुले वरिपरि हेर्दै भन्यो, “यहाँ हावा छैन, त्यसैले आवाज पनि सुनिँदैन। तिमीले चिच्याउँदा पनि मैले सुन्न सकिनँ।”

रिमाले अचम्म मानिन्।

“त्यसैले चन्द्रमा यति शान्त रहेछ!”

त्यसपछि उनीहरूले केही ढुंगा संकलन गरे र फर्किने तर्खरमा लागे । फर्किने बेला रिमाले चन्द्रमालाई फेरि एकपटक हेरिन्।

“वैज्ञानिकहरू साँच्चै साहसी हुँदारहेछन्,” उनले भनिन्।

टिकुले टाउको हल्लायो।

“अन्तरिक्षमा काम गर्न धेरै ज्ञान र धैर्य चाहिन्छ।”

अचानक ठूलो आवाज आयो—

“रिमा, उठ्ने बेला भयो!”

रिमाले आँखा खोलिन्। उनी आफ्नै कोठामा थिइन्। पुस्तक टेबलमै खुला थियो। बिहान भइसकेको थियो।

आमा कोठामा आउँदै भन्नुभयो, “तिमी पढ्दापढ्दै सुतिछौ।”

रिमा मुस्कुराइन्।

“आमा, मैले चन्द्रमाको अद्भुत सपना देखेँ!”

उनले सबै कुरा आमालाई सुनाइन्। आमाले ध्यान दिएर सुनिरहनुभयो।

“यो सपना मात्र होइन,” आमाले भन्नुभयो, “यो त तिम्रो भविष्यको संकेत पनि हुन सक्छ।”

त्यसदिनदेखि रिमा अझ धेरै मेहनत गरेर विज्ञान पढ्न थालिन् । विद्यालयको विज्ञान प्रदर्शनीमा उनले नयाँ रोबोट बनाएर सबैलाई देखाइन्। शिक्षकहरूले उनको धेरै प्रशंसा गरे।

विज्ञान शिक्षकले मुस्कुराउँदै भन्नुभयो, “रिमा, तिमी एकदिन ठूलो वैज्ञानिक बन्न सक्छौ।”

त्यो साँझ पनि रिमाले आकाशतिर हेरिन् । चन्द्रमा त्यसरी नै चम्किरहेको थियो। उनको मनमा एउटा दृठ अठोट जमिसकेको थियो —

“एकदिन साँच्चै म तिम्रो सहत चुम्न आउनेछु चन्द्रमा ।”