बगैंचामा एक दिन अनौठो भयो ।

परीले नीला फूलको ठूलो टोपी लगाइन् । उनी आँखा चिम्लेर मुस्कुराइरहेकी थिइन् ।

त्यत्तिकैमा एउटा गुलाबी फूल फुर्र उड्दै परीको कपाल सुम्सुम्याउन आइपुग्यो ।

उसले कानैमा साउती मार्दै भन्यो, “परी दिदी ! तपाईं सुत्नुभएको हो र ?”

मुसुक्क मुस्कुराउँदै परिले भनिन्, “छैन, म त हावाको गीत सुनिरहेकी छु ।”

सँगैको अर्को फूल हाँस्यो । उसले खिसी गर्दै सोध्यो, “हावाले पनि गीत गाउँछ र ?”

“किन नगाउनु ? मज्जाले गाउँछ । तर सुन्न जान्नुपर्छ,” परीले आँखै नखोली भनिन् ।

फूलहरू जिज्ञासु भए, “हामीलाई पनि सिकाउनुहोस् न त कसरी सुन्ने हो हावाको गीत ?”

परी बोलिनन् । केवल मुस्कुराइन् ।

फूलहरू पनि शान्त भए ।

त्यत्तिकैमा वगैंचामा हावा चल्न थाल्यो– सररर…सररर…सररर…।

पातहरू हल्लिए– फुर्र…फिर्फिर्…फुर्र…फिर्फिर्…।

कुनै कुनै फूलका त मसिना पत्रहरू पनि फिर् फिर् गर्दै हल्लिए ।

“ए ! मैले सुनेँ !” एउटा फूल करायो ।

“मैले पनि !” अर्को पनि बोल्यो ।

त्यति नै बेला बगैँचामा एउटा गुनगुने भमरा आयो ।

गुनगुनेले सोध्यो, “आज के हुँदैछ यहाँ ?”

फूलहरूले भने, “हामी त हावाको गीत सुनिरहेका छौँ ।”

भमराले कान तन्कायो । निकै बेर कान थापिसकेपछि भन्यो, “हँ…मैले त केही सुनिन त.. ।”

“तिमी आफैँ धेरै गुनगुन गर्छौ अनि कहाँ सुनिन्छ त ?” फूलहरूले हाँस्दै भने ।

भमरा केही लजायो । तैपनि उसले आफ्नो जिज्ञासा जारी राख्यो ।

“अनि गीत कसरी सुनिन्छ त ?”

परीले बिस्तारै आँखा खोलिन् ।

अब यहाँ के के हुने हो भन्ने ठान्दै भमरा चुप लाग्यो ।

हावा फेरि त्यसरी नै चल्यो– सररर…सररर…।

यसपटक भमरा पनि मुस्कुरायो ।

“ए, हो हो, मैले पनि अलिकति सुनेँ जस्तो छ !”

फूलहरू खुसी भए ।

परी फेरि पनि उसैगरी मुस्कुराइन् ।

त्यस दिनदेखि बगैँचामा हावाको गीत कसले पहिले सुन्ने भन्ने प्रतिस्पर्धा नै चल्न थाल्यो । बिचरा भमरा भने सधैँ ढिलो हुन्थ्यो । किनकि ऊ अरुका कुरा सुन्नभन्दा पहिले आफैँ गुनगुनाउन व्यस्त हुन्थ्यो !

श्रीश भण्डारी
थप जानकारी