धेरै अगाडिको कुरा हो, नारायणी नदीको किनार नजिकै एउटा दूधवाला बस्थ्यो । उसको नाम बलराम थियो । प्रत्येक दिन ऊ शहरमा गएर दूध बेच्ने गर्थ्याे । उसले बेच्ने दूध शुद्ध हुन्थ्यो । यसका लागि सबै ग्राहकले उसको प्रशंसा गर्थे । ती दिनहरूमा दूध त्यति महँगो थिएन । बलरामले आफ्नाे जीविकोपार्जनका लागि निक्कै मेहनत गर्नु परेको थियो ।

एकदिन उसको घरमा सालो आयो । उसको सालो छल गर्न जान्ने खालको धोकेवाज थियो । उसले बलरामलाई भन्यो, “तपाईं किन आफ्नाे दूधमा पानी मिसाउनु हुन्न ? पानी मिसायो भने धेरै फाइदा हुन्छ नि भिनाजु !” यसरी उसले बलरामको कान फुक्यो ।

हातले कान समातेर जिब्रो टोक्तै बलरामले भने, “म कहिल्यै बेइमान हुन सक्दिन ।”

सालोले बलरामलाई अझै मनाउन खोजे । तैपनि उनी मानेनन् । सालोले कर गर्याे, “तपाइँले यसो गर्नु भयो भने धेरै पैसा कमाउनु हुनेछ र परिवारलाई सुखले पाल्न सक्नुहुनेछ ।” यति भन्दा पनि बलरामले नमानेपछि सालोले आफ्नाे दिदीलाई यही कुरा सुनायो ।

भाइको कुरा सुनेर दिदीको मनमा लोभ पलायो । उनले आफ्नाे श्रीमानलाई भनिन्, “यस्तो गर्न पाए त म पनि महँगो सारी लगाउन पाउने थिएँ । छोराछोरीले पनि आफ्ना सबै चाहाना पूरा गर्न सक्ने थिए ।”

श्रीमतीले नै यसो भनेपछि बलरामले उनीहरूको कुरा स्वीकार गरे । अनि पैसा कमाउने नयाँ तरिका अपनाउन थाले । उनले अब दूधमा पानी मिसाउन थाले । सुरुमा अलिअलि मिसाए । विस्तारै पानी बढाउँदै लगे । अनि आधा दूध र आधा पानी मिसाउन थाले । हुँदा हुँदा कुनै दिन त उनी दूधमा पानी होइन, पानीमा दूध मिसाउनेसम्मको भए ।

ग्राहकहरूलाई भने यो कुरा पत्तै थिएन । किनभने उनीहरू सबैले बलरामलाई एकदमै इमान्दार दूधवालाका रूपमा चिनेका थिए । उनले गरेको बेइमानीको उनीहरूले सुईंकोसमेत पाएका थिएनन् । बिस्तारै बलरामको शान अर्कै हुँदै गयो । अब उनी निकै धनी मानिस भइसकेका थिए ।

एकदिन बलरामकी श्रीमतीले उनलाई सहरमा गएर केही सामान ल्याउन भनिन् । बलराम झोलाभरि सिक्का पैसा लिएर सहरतिर लागे । बाटोमा एउटा नारायणी नदी पर्थ्याे । उनलाई त्यो नदीको पानीमा नुहाउन मन लाग्यो । उनी आफ्नो झोला रुखमुनिको सुरक्षित ठाउँमा राखेर नदीमा डुबुल्की मार्न गए । नदीबाट निस्केर हेर्दा त उनको झोला गायब भैसकेको थियो ।

बलराम चिन्तित भए । उनी यताउता झोला खोज्न थाले । त्यसैबेला उनका आँखा एउटा रुखमा पुगे जहाँ एउटा बाँदर उसको झोला कब्जा गरेर बसेको थियो । उनले त्यो बाँदरलाई ढुङ्गा हानेर धपाउन खोजे । बाँदरले पनि जवाफमा उनको झोलामा भएका सिक्का फयाँक्न थाल्यो । यसरी फ्याँक्दा केही सिक्का नदीको पानीमा खसे भने केही जमिनमा झरे । बलरामले हतार हतार जमीनका सिक्का बटुले तर पानीको भने उठाउन सकेनन् । आफ्ना आधा सिक्का पानीमा बहेको देखेर उनी धेरै चिन्तित भए । उनलाई थाहा थियो कि बाँकी रहेको पैसाले सबैलाई सामान किन्न पुग्दैन । उनी त्यहीँबाट घर फर्किए । घरमा पुगेर सबै कुरा सुनाए ।

आधा पैसा पानीमा बगेको सुनेपछि घरका सबैलाई याद आयो– उनीहरूको आधा कमाई दूधमा आधा पानी मिसाएर भएको थियो । यो घटनाबाट उनीहरूको चेत खुल्यो– पक्कै यो कुकर्मकै परिणाम हो । त्यसपछि उनीहरूले अबदेखि कहिल्यै लोभ लालच नगर्ने प्रण गरे । इमान्दारीकै कमाइमा खुशी हुने तर गरेर परिवारका सबैजना हाँसीखुशी बस्न थाले ।

कक्षा १०
आदर्श योगहरि उच्च मावि
काठमाण्डौं ।