अचानक आफ्नो अगाडि जिराफ देख्दा जनक आश्चर्यमा पर्छ । टेलिभिजनको पर्दामा देखिने लामो न लामो घाँटी भएको जिराफले जनकलाई भन्छ– ‘म अफ्रिकाबाट एशिया घुम्न आएको जिराफ हुँ । मलाई काठमाण्डौ घुमाइदिनु हुन्छ कि ?’ जिराफले मधुरो स्वरमा यस्तो आग्रह गरेपछि मुस्कानका साथ जनकले काठमाण्डौ घुमाइदिन मन्जूर गर्छ । जिराफले आफ्नो लामो गर्धन भुइँमा पसारेर जनकलाई पिठ्युँमा बसाउँछ । त्यसपछि उनीहरू काठमाण्डौ घुम्न निस्कन्छन् ।

अग्लो जिराफ र त्यसमाथि बसेको जनकलाई देखेर ट्राफिक दाजु पनि छक्क पर्छन् । उनीहरूलाई हेर्नेहरूको भीड पनि उत्तिकै लाग्छ । जनकले जिराफलाई काठमाण्डौका चोक चोकदेखि लिएर चिडियाखाना, बाग्मती र बिभिन्न मठ मन्दिरहरू घुमाउँछ । चिडियाखानामा जिराफले बिभिन्न जनावरहरूसँग कुराकानी गर्छ । बन्दी जीवन बिताइरहेका उनीहरूका दुखका कुरा सुन्छ ।

जनकले जिराफलाई मठमन्दिरहरूका बारे पनि बताउँदै हिड्छ । बिभिन्न खालका फलफूल किनेर खान दिन्छ । तर जिराफ आफूलाई हरिया स्याउलाहरू मात्र मन पर्ने र आफ्नो खाना नै त्यही भएको बताउँछ । अब जनक जिराफलाई खाना ख्वाउनका लागि गोदावरीको हरियो जँगलसम्म पुग्छ र टन्न घाँसपात खुवाउँछ । गोदावरीको स्व्चछ पानी पनि पिलाउँछ ।
अब जिराफको काठमाण्डौलाई विदाई गर्दै चीनतर्फ जाने बेला हुन्छ । चीनको सीमासम्म जनक जिराफलाई पुर्याउन जान्छ । छुट्टिने बेलामा जनक र जिराफ दुबै दुःखी हुन्छन् । जनकले जिराफलाई आफूले लगाइरहेको गलबन्दी फुकालेर दिन्छ । जनकले मितेरी पुलमा उभिएर जिराफलाई हेरिरहन्छ । जिराफ पनि आप्mनो लामो घाँटी फर्काउदै हल्लाउँदै बाई बाई भन्दै एउटा घुम्तीमा पुगेर हराउँछ । जनक काठमाण्डौ फर्किन्छ ।

यो कथा बाल साहित्यकार अनन्त वाग्लेद्वारा लिखित चित्र पुस्तकको हो । यो पुस्तक निम्नमाध्यामिक तहका भाइबहिनीहरूका लागि तयार पारिएको हो । यो कथाले जिराफकाबारे सामान्य ज्ञान दिएको छ । कथाले बिश्वका भिन्नाभिन्नै महाद्वीपका प्रतिनिधिहरूबीच मितेरी, सहानुभुति, पारस्परिक हेरचाह र सहयोगको भावना जगाउन खोजेको छ । पुस्तकका चित्रहरू पनि निकै राम्रा छन् । यी चित्र देवेन्द्र पाण्डे देवेनले बनाउनु भएको हो । शान्तदास मानन्धरले सम्पादन गर्नु भएको यस पुस्तकलाई रुम टु रिडले प्रकाशन गरेको हो ।