Art : Bibesh Ramdan, Class V, Adarsha Yoghari Secondary School.

जीवनमा थोरै कुराहरू मात्र हामीले भाग्यले पाएका हुन्छौं । बाँकी धेरैका लागि हामी आफैंले मेहेनत गर्नु पर्ने हुन्छ । भाग्यले पाएका थोरै कुराहरूमध्ये आमा–बुबा, जन्मजात नाता–सम्बन्धहरू र गुरुहरूसमेत पर्नुहुन्छ । कुनै व्यक्ति भविश्यमा कस्तो बन्छ भन्ने कुरा उसको बाल्यकालमा तीन प्रमुख व्यक्तिले कस्तो प्रभाब पारेका छन् भन्नेमा धेरै हदसम्म निर्भर रहन्छ । पहिलो–आमा, दोस्रो– बुबा र तेस्रो–गुरु । आमा बुबापछि गुरुको यति धेरै महत्व हुने भएकैले हामी सबै गुरुप्रति आजीवन कृतज्ञ रहनु पर्छ । सच्चा गुरुको शिक्षालाई व्यवहारमै उतार्ने प्रयत्न गर्नुपर्छ ।

गुरु त्यस्तो व्यक्ति हो जसले अज्ञानलाई हटाएर व्यक्तिलाई सही बाटो देखाईदिन्छ । हामीलाई केही पनि कुराहरू थाहा नहुँदा जसले जे कुरा सिकाइदिएको हुन्छ ती सबै कुनै न कुनै प्रकारले गुरु नै हुन् । ज्ञानको स्रोत किताब बा शिक्षक मात्र नभई जीवजस्तु, बनस्पति वा अन्य जुनसुकै घटना परिघटनासमेत हुन सक्छन् । हरेक व्यक्ति, वस्तु वा घटनाले हामीलाई केही न केही ज्ञान दिइरहेका हुन्छन् । त्यो ज्ञान लिन सक्ने क्षमता हामीलाई जसले दिन्छ त्यो चाहिँ अझ उच्च कोटीको गुरु हुन्छ ।

गुरु पूर्णिमाका अवसरमा तपाईं हामी सबै आ–आफ्ना ज्ञात–अज्ञात गुरुहरूप्रति कृतज्ञ बनौं । नतमस्तक होऔं । ज्ञानको दायरालाई अझ फराकिलो पार्दै अघि बढौं । सबैलाई हार्दिक शुभकामना ।