६ बर्षको एउटा बालकले अजिङ्गरले हात्ती निल्दैे गरेको चित्र बनाउँछ र ठूलालाई देखाउँछ । ठूलाले उसको चित्र देखेर हाँसेर उडाउँछन् । कसैले पहाड त कसैले समुन्द्र भनेर त्यो चित्रको खिल्ली उडाउँछन् । चित्र बनाउनुको साटो कितावका पाना पल्टाउन सल्लाह दिन्छन् । यसैले नचाहँदा नचाहँदै उसको चित्र बनाउने चाहाना त्यहीँ रोकिन्छ ।

पछि उ पाइलट बन्छ । अहिलेसम्म पनि बाल्यकालमा बनाएको त्यो चित्रको छाप उसको दिमागमा रहिरहन्छ । एकपटक उसको जहाज मरुभूमीमा सामान्य दुर्घटनामा पर्दछ । उ त्यहाँ एक्लै हुन्छ । उसँग एकहप्तालाई मुस्किलले पुग्ने पानी हुन्छ । यसैले उ जानी–नजानी त्यो बिग्रेको इन्जिन मर्मत गर्न थाल्दछ । मरुभूमिको घामले थकित उ बालुवामै भुसुक्क निदाउँछ ।
बिहान एकाएक उसलाई एक मधुरो आवाजले ब्युँझाउँछ । मान्छेको बस्तीभन्दा हजारौ माइल टाढा कसैले उसलाई बोलाउँदा ऊ अति आश्चर्यमा पर्छ । उसको अगाडि एउटा अनौठो बच्चा उभिएको हुन्छ ।

त्यो बच्चाले आफूलाई अर्काे ग्रहबाट आएको बताउँछ र आफ्ना ग्रहका अनौठा कुरा सुनाउँछ । बिमान चालकले उसलाई सानो राजकुमार नाम दिएका हुन्छन् । अनि सुरु हुन्छ सानो राजकुमारको कथा ।

‘सानो राजकुमारको कथा’ असाध्यै रमाइलो किताब हो । यस किताबमा फुच्चे राजकुमार र बिमान चालकका बीचमा घटेका अनौठो घटना र रोचक कुराकानी छन् ।
फ्रान्सेली लेखक एन्टोनी डे सन्त एजुपेरेले सन् १९४३ मा लेखेको यो पुस्तक धेरै भाषामा अनुवाद भइसकेको छ । नेपालीमा चाहिँ यसलाई शान्ता सिंखडाले अनुवाद गर्नु भएको छ । यो किताबको प्रकाशन पाँचपोखरी प्रकाशन गृहले गरेको हो । किताबको मूल्य १ सय २५ रूपैयाँ पर्छ ।