अनन्त वाग्ले सुपरिचित बाल साहित्यकार हुनुहुन्छ । उहाँ दुई दशकभन्दा लामो समयदेखि बाल साहित्य सिर्जना र पत्रकारितामा क्रियाशील हुनुहुन्छ । ५० भन्दा बढी बालसाहित्यका पुस्तक प्रकाशन गरिसकेका वाग्ले सिर्जनात्मक लेखन सहजकर्ता पनि हुनुहुन्छ । उहाँको पछिल्लो पुस्तक हो– कदम । यही पुस्तकको सेरोफेरोमा उहाँसँग गरिएका ५ प्रश्न– 

१. कदम कस्तो पुस्तक हो र यो लेख्ने सोच कसरी आयो ?

म समाजशास्त्रको विद्यार्थी हुँ । राउटेजस्तो घुमन्ते जातिबारे चासो हुने नै भयो । पत्रकार पनि भएकाले यस जातिमा आइरहेका परिवर्तन र नयाँ घटनाहरूबारे जानकार पनि थिएँ । आम मानिसभन्दा यिनका जीवनशैली धेरै फरक छन् । यो सीमान्तकृत समुदाय हो । राउटेहरू जंगल जंगल बसाँइ सर्दै हिँड्छन् । घर बनाएर बस्न र बालबालिकालाई पढाउन चाहदैनन् । वास्तवमा यी खास भुइँमान्छे हुन् । राउटेका संघर्ष, जीवनशैली, सामाजिक अवस्था, दिनचर्या, प्रेमप्रणयआदिबारे एउटा राम्रो आख्यान लेखिनु पर्छ भन्ने लाग्यो र कदम जन्मेको हो ।

२. यो पुस्तक पढेर कतिपय पाठकले पुस्तकमा बयान गरिएको स्थानमा जान चाहेका छन् भन्ने सुनियो । हो त ?

हो, धेरै पाठकले यसमा बयान गरिएको परिवेश जुन एउटा रेष्टुरेन्ट छ, त्यहाँ जान चाहेको बताइरहनु भएको छ । कतिपयले मलाई त्यहाँ कफी खान बोलाउनु भएको छ । तथ्य र कल्पनाको मिश्रण रहेको यो कथालाई यथार्थ ठानेर उहाँहरूले त्यसो भन्नु भएको हो । असल पाठकलाई कथामा डुबेपछि यस्तो महसूस हुन्छ । कतिपय साथीहरूले यसलाई लेखनको सफलता पनि भन्नु भएको छ । मलाई पनि रमाइलो लागेको छ ।

३. यो पुस्तक लेख्दा राउटेहरूसँग घुलमिल हुनु भयो होला । खासमा उनीहरूको जनजीवन कस्तो हुँदो रहेछ ?

उनीहरू सरल छन् । जालझेल जान्दैनन् । पुर्खाले जे गरेको छ, त्यही गर्न चाहन्छन् । तर बाहिरको प्रभावले उनीहरूको जीवनशैलीमा निकै फरकपन आइरहेको छ । कतिले यसलाई बिग्रँदै गएको रूपमा पनि बुझिरहेका छन् । जनसंख्या पनि घट्दो छ । उनीहरूको खानपान राम्रो छैन । कुपोषण छ । महिलालाई झन् गाह्रो छ । मातृशिशु स्वास्थ्यको अवस्था नाजुक छ । रक्सी र सुर्ती सेवन बढ्दो छ । केही समयअघि राउटे युवतीमाथि दुव्र्यवहार भएको खबर सुन्नुभएकै होला । त्यसैले यो ‘जीवन्त सम्पदा’ सरहको यो समुदायलाई संरक्षण गर्न विशेष योजना आवश्यक छ ।

४. राउटेका लागि अहिले राज्यले चाल्नुपर्ने अत्यावश्यक कदम चाहिँ के हो त ?

यसबारे मैले उपन्यासमा व्यापक योजना र दृष्टिकोण प्रस्तुत गरेको छु । सर्वप्रथम उनीहरूलाई बाह््य समाजको प्रत्यक्ष सम्पर्कबाट तुरुन्त रोक्नु पर्छ । उनीहरू बस्ने क्षेत्रमा सुरक्षा प्रबन्ध मिलाउनु पर्छ । उनीहरूलाई सामाजिक सुरक्षा भत्ता बढाउनु पर्छ । घर बनाउन प्रेरित गर्नु पर्छ । उनीहरूको काष्ठकलाको सीपको प्रवर्धन गर्नु पर्छ । ती सामानको बजार बिस्तार गर्नु पर्छ । स्वास्थ्य र शिक्षाको चेतना जगाउनु पर्छ । शिशु र वयष्कको पनि मृत्युदर घटाउनु पर्छ । उनीहरूका बारेमा अध्ययन गर्न, भेट्न आउनेहरूलाई शुल्क लिएर मात्र भेट, अनुसन्धान गर्ने व्यवस्था मिलाउनु पर्छ । त्यही शुल्कले उनीहरूलाई गाँस, वास, कपडा र स्वास्थ्यको प्रबन्ध गर्न सकिन्छ । यसलाई नेपालको विशेष सम्पदा र पर्यटनको राम्रो सम्भावनका रूपमा विकास गर्नु पर्छ ।

५. यो पुस्तक लेख्दै गर्दा कुनै कुराले भावुक हुनु भएको छ ?

हा.हा..(हाँस्दै) म कवि पनि हुँ । भावुक नै छु । भावुक नभएको भए सायद यो उपन्यास लेखिने पनि थिएन होला । हामी अर्काका दुःख देखेर पिरोलिनेहरूका लागि त्यस समुदायमा धेरै कुरा छन् । झरीको मौसम छ । तिनीहरू यस्तो पानीमा कसरी बसिरहेका होलान् जस्तो लाग्छ । महामारीका बेला, त्यहाँ महामारी फैलियो भने के होला भन्ने सोचले पनि तर्सायो । एक्काइसौँ शताब्दीको मानव जीवन पनि यस्तो हुन्छ है भन्ने लाग्छ । मसिना नानीहरूको अवस्था, महिला र वृद्धवृद्धाको अवस्था, विधवाको अवस्था, युवाकै अवस्था पनि एकदम टीठलाग्दो छ ।