कोभिडका कारण अहिले पनि धेरैजसो विद्यार्थी दिनहुँ घरमै बस्नु परिरहेको छ । सँधै घरमै बस्दा बस्दा नानीबाबुहरूलाई दिक्क लागेको हुन सक्छ । अनलाइन कक्षाले गर्दा अधिकांश समय इन्टरनेटमै बित्छ । अझ कतिलाई अनलाईन कक्षा चल्दाचल्दै भिडियो गेममा भुल्न मन लाग्छ । कतिलाई युट्युव वा इन्टरनेटमा अरु नै सामग्री हेर्न । अलि अलि गर्दा गर्दा धेरैलाई इन्टरनेटको लत बसिसकेको छ । एकैछिन स्मार्ट फोन भएन कि के गरौं र कसो गरौं जस्तो भइहाल्छ ।

मनोवैज्ञानिकहरूले भनिरहेका छन्– इन्टरनेटमा धेरै समय विताउने बालबालिकामा मानसिक तनाव वा चिढचिडाहटको समस्या देखिन थालेको छ । झर्किने, रिसाउने र ध्यान एकाग्र नहुने समस्या बढ्दो छ । यसलाई कम गर्न बालबालिका आफैंले बुझेर इन्टरनेटमा विताउने समय घटाउन सक्नुहुन्छ । विकल्पमा हरेक बिहान आधा घण्टाजति योग गर्न सकिन्छ ।

अचेल ठूला मानिस योग ध्यानमा लागेको देखिए पनि बालबालिकामा यो अभ्यास अझै पाइन्न । हरेक बालबालिकाले हरेक दिन बिहानको समयमा योग गर्ने बानी बसाल्ने हो भने यसले उनीहरूको मानसिक स्वास्थ्य एकदमै राम्रो बनाउँछ । स्मरण शक्ति बढाउनसमेत मद्दत गर्छ । शरीर निरोगी हुनुका साथै हामी आकर्षक देखिन्छौं ।

चलनचल्तीमा योग मात्र भन्ने गरिए पनि योगभित्र तीन मुख्य पक्ष समेटिएको हुन्छ । ती हुन्– आसन, प्राणायम र ध्यान । आसनहरूको अभ्यासले शरीर तन्दुरुस्त बन्छ । यो शारीरिक व्यायाम जस्तै हो । बालबालिकाले सामान्यतः सूर्य नमस्कार आसनको अभ्यास गर्नु पर्याप्त हुन्छ । गुरू वा प्रशिक्षकको सल्लाह र उपस्थितिविना जटिल खालका आसनहरू गर्नु हुँदैन ।

प्राणायामको काम शरीरका आन्तरिक अंगहरूलाई शुद्ध र सक्रिय बनाउनु हो । यो श्वासप्रश्वासका माध्यमबाट गरिन्छ । बालबालिकाले ३÷३ मिनेट अनुलोमविलोम, कपालभाति, भस्त्रिका र भ्रामरी प्राणायम गर्न सक्छन् । तर यसका लागि पनि सुरुमा गुरुकै सल्लाह र निर्देश लिनु पर्छ ।

आसन र प्राणायम सकेपछि ध्यानमा बस्नु पर्छ । पद्मासन, सुखासन वा सिद्धासनमा बसेर मनलाई शान्त पार्नु नै ध्यान हो । ध्यान गर्न बस्दा मनमा अनेक विचार आउन सक्छन् । त्यसले केही पनि फरक पार्दैन । ती कुनै पनि विचारलाई बलपूर्वक दवाउन खोज्नु हुँदैन । केही बेर आएपछि ती विचार विस्तारै हराउँदै जान थाल्छन् । विस्तारै मन एकाग्र हुन थाल्छ । ध्यानको विधि पनि सुरुमा गुरुबाटै सिक्नु राम्रो हुन्छ ।

ध्यानले बालबालिकालाई ज्यादा चञ्चल हुनबाट बचाउँछ । मस्तिष्क सक्रिय बनाउँछ । स्मरणशक्ति बढाउँछ । अचेल अनलाइन कक्षाहरुले गर्दा बालबालिकाको बढी समय कम्प्युटर र मोबाइलमा बितिरहेको छ । यस्तो बेला उनीहरूको एकाग्रता बिथोलिने भएकाले ध्यान गर्नु अझ बढी जरुरी छ ।

बालबालिकालाई योगाभ्यासमा लगाउन अभिभावक आफैंले पनि उनीहरूसँगै योग ध्यान गर्नु आवश्यक छ । नानीबाबुहरूले त्यही सिक्ने हो जो अभिभावकले गर्छन् । नानीबाबुसँगै योग गरे उनीहरूले त सिक्छन् नै आफू पनि त्यही वहानामा स्वस्थ्य र तन्दुरुस्त भईन्छ । त्यसैले योग गरौ । शारीरिक रुपमा सवल र मानसिक रुपमा फुर्तिलो बनौं ।

यमुना पराजुली
थप जानकारी