साना नानीबाबु हुन् वा कलेजस्तरका विद्यार्थी, यतिबेला काठमाडौंको भृकुटीमण्डपमा सबै आ–आफ्ना रुचिका पुस्तक छान्न र आफूले मन पराएका लेखकहरू भेट्न व्यस्त छन् । किनभने मंगलबारदेखि यहाँ बृहत् पुस्तक मेला चलिरहेको छ ।

बालबालिकादेखि सबै उमेर समूहमा पठन संस्कृतिको विकास गर्ने मूल उद्देश्यका साथ आयोजना गरिएको यो पुस्तक मेलालाई ‘साउथ एसिया इन्टरनेशनल बुक फेयर २०२३ (नेपाल)’ नाम दिइएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रालिले संयुक्त रूपमा आयोजना गरेको पुस्तक प्रदर्शनीमा १ सय ८० स्टल छन् । २०८० साल मंसीर ५ गते मंगलबार सुरु भएको पुस्तक प्रदर्शनी ९ गते शनिबारसम्म चल्नेछ ।

प्रदर्शनीमा बाल साहित्यका विविध रचना र कृतिहरू राखिएका छन् । त्यस्तै कथा, कविता, उपन्यास, संस्मरण, मनोविज्ञान र उत्प्रेरणात्मक लगायत सबैजसो विधाका स्वदेशी तथा विदेशी लेखकका पुस्तकहरू राखिएको यस प्रदर्शनीमा सबै तहका शैक्षिक सामाग्रीहरू समेत उपलब्ध छन् ।

आयोजकहरूका अनुसार प्रदर्शनीमा अमेरिका, बेलायत, इजिप्ट, भारत, चीन, श्रीलङ्का, पाकिस्तान लगायत मुलुकका निजी प्रकाशक संस्थाहरू सहभागी छन् । हरेक मुलुकले आफ्नो संस्कृतिलाई प्रचार गर्ने उद्देश्यले संस्कृतिसम्बद्ध पुस्तकमा जोड दिएका छन् । पुस्तक मेलामा लेखकसँग हस्ताक्षर, साहित्यिक जमघट, नयाँ कृतिको विमोचन कार्यक्रमहरूका साथै कविता र गजल वाचनसमेत भइरहेको देख्न सकिन्छ ।

प्रदर्शनीमा प्रवेश निःशुल्क रहेकाले धेरै भन्दा धेरै पाठक उपस्थित हुने अपेक्षा गरिएको छ । आ–आफ्ना बालबालिकालाई लिएर प्रदर्शनीमा उपस्थित हुन आयोजकहरूका तर्फबाट आम अभिभावकहरूलाई आमन्त्रण पनि गरिएको छ ।