काठमाडौँ । धेरै बालबालिकामा खाना खाने तरिका नमिलेका कारण समस्या देखिने गरेको छ। धेरैले पेटसम्बन्धी समस्या लिएर आउने गर्छन्। हामीले ठूलो उमेरको बालबालिकामा अल्सरलगायतका समस्या हुन्छन् भन्ने थाहा पाएका छौं तर अल्सरको संक्रमण सानै उमेरका बालबालिकामा पनि हुने देखिएको छ।

बच्चाले जव बाहिरको खाना खान थाल्छ, कतिपय समस्या त्यसपछिको उमेरमा देखा पर्छ। त्यसले पेटमा घाउ हुने, पेटमा रहेको अम्लिय पदार्थ माथि जाने लगायतका समस्या देखिन्छ। ग्यास्ट्राइटिस भनिने यस्तो समस्या लिएरपनि बिरामीहरु आउछन्। ७–८ वर्ष नाघेका बच्चालाई आवश्यक पर्‍यो भने पेटमा घाउ छ कि छैन भनेर इन्डोस्कोपी गरेर पनि हेर्नुपर्ने हुन्छ।

बच्चाहरुमा कब्जियतको समस्या पनि बारम्बार देखिने गर्छ। बच्चाहरुमा धैर्यतापूर्वक ट्वाइलेटमा बस्ने अभ्यास नहुँदा पनि यस्तो हुन्छ। उमेर पुगेका मानिसलाई खाना लगायतका कारणले कब्जियत हुन्छ, तर बालबालिकालाई ट्वाइलेटमा बस्ने अभ्यास नहुनाले। विहानमा ट्युसन, स्कुल, होमवर्क लगायतका कारणले एकदमै भागदौडको सामना गर्नुपर्छ। अनि दिउसोमा स्कुलको सार्वजनिक ट्वाइलेट प्रयोग नगर्ने स्वभाव हुन्छ। दिनभर या लामो समय ट्वाइलेट खटाउने बानी बढ्दै गएपछि उनीहरुमा कब्जियतको लक्षण देखा पर्छ। जसले खानाको रुची कम हुने खाना मन नलाग्ने जस्तो समस्या देखिन्छ।

त्यसैले अभाविकहरुले विहानमा १०–१५ मिनेट समय दिएर बालबालिकालाई नियमित ट्वाइलेट जाने बानी बसाउनुपर्छ। विहान नियमित शौचालय बस्ने बानीमात्रै बस्ने हो भने कब्जियतको समस्या हुँदैन।

जंकफुडको नियमित प्रयोग बालिकालिकाको अर्को समस्या हो। अहिले जस्तो अवस्था आइसकेको छ कि जंकफुड रोक्ने खोजेर पनि रोकिन्न। हरेक खाद्यान्न पसलमा आवश्यक सामानभन्दा अगाडी जंगफुड राखिएको छ। त्यसैले बालबालिका त्यसमा आकर्षित भइहाल्छन्। टिभीमा त्यसैगरी विज्ञापन हुन्छ। व्यस्त बाबुआमा काममा दौडिहाल्नुपर्ने भएकाले जंकफुड दिनु नै सजिलो र छरितो हुन्छ। यसलाई कम गर्न सकिन्छ, बच्चलाई फकाएर, जंकफुडलाई कटौती गरेर दिन सकिन्छ। पिरोयुक्त नदिने, चाउचाउ नदिने, दिए पकाएर दिने। जंकफुड आफैमा नराम्रो हैन। तर त्यसको त्यसको मात्रा बढी भए समस्या आउछ। पिरोपना बढी भए पेटमा एसिडिटीको समस्या पनि बढी हुन्छ।

बच्चाहरु प्राय चकचके पनि हुन्छन्। त्यो सामान्य प्रक्रिया हो। कुनै अविभावकले बच्चा चकचके भएन भन्ने गुनासो लिएर आए बरु चिन्तित हुनुपर्छ। बच्चा बढी सिक्न खोज्छ। बढी नै चकचके छ, सामाजिक स्वभावको भएन भने चिन्ता लिनुपर्छ। नत्र ठिकै हो। चकचकका कारण चोटपटक लाग्ला कि भन्ने सतर्कता चै अपनाउनुपर्छ।

बालबालिकाको लिभर र जण्डिसको समस्या पनि हुन्छ। कतिपय केस भने अपरेशन गर्नुपर्ने पनि हुन्छ। लिभर नै फेल हुनेपनि हुन्छ। जण्डिस विभिन्न प्रकारको हुन्छ। हेपाटाइटिस ए खानाका कारणले सर्ने जण्डिस हो। त्यसकै कारण कहिलेकाहिँ लिभर नै फेर्नुपर्ने खालको समस्या पनि हुनसक्छ। हेपाटाइटिस ए लाई भने भ्याक्सिनबाट पनि रोकथाम गर्न सकिन्छ।