ललिता ‘दोषी’

सानो बेलाका तीतामीठा पलहरू प्रायः सबै जसो सम्झेकी छु । केही पलहरूलाई अक्षरमा पनि उतारेकी छु । मैले बिर्सिन नसकेको एउटा घटना प्यारी साथी नारणदेवीसँगको बिछोड पनि हो । मेरो एक कक्षादेखि कै अति नै मिल्ने नारणदेवी श्रेष्ठ भन्ने साथी थिइन् । उनी मलाई अति नै माया गर्थिन् । म पनि माया गर्थेँ । उनी बालकुमारीमा बस्ने म इमाडोलमा । हामी लगनखेलमा भएको नमुना मच्छिन्द्र माविमा सँगै आउने जाँने गर्दथ्यौँ । उनीहरूको खुद्रा पसल थियो । उनी धेरै पैसा खर्च गर्थिन् । कुनै खानेकुरा किने पनि मलाई छुट्ट्याउदैनथिन् । म भने त्यति पैसा खर्च गर्न सक्दैनथेँ । मलाई उनले दिएको खानेकुरा सधैँ खादा अलि नमज्जा लाग्थ्यो ।

मैले एक दिन स्कुलबाट घर फर्किदा भनेँ– नारणदेवी तिमी मसँग हिँड्दा धेरै पैसा खर्च नगर ल । उनी यति रिसाइन् कि उनी मसँग बोल्दै बोलिनन् । फनक्क फन्किएर अगाडि लागिन् । मैले त्यो दिन मात्र होइन पछि पनि उनीसँग धेरै बोल्न चाहेँ तर उनी बोलिनन् । हाम्रो विवाह पश्चात भने मैले उनको बहिनीसँग फोन नम्बर लिएर उनलाई फोन गरेँ । राम्रै कुरा भयो । मलाई अहिले पनि नारणदेवीको असाध्यै माया लाग्छ । उनी निश्छल मनकी थिइन् र छिन् । सानोमा राम्रो साथी गुमाएको पीडा मलाई पछिसम्म भयो ।

मेरी आमाले हामी १० सन्तालाई कहिल्यै हात उठाउनुभएन । उहाँ यति महान् हुनुहन्थ्यो कि मलाई त्यो कुरा सुन्दा कथाजस्तै लाग्थ्यो । मेरी आमाले मेरो ठूलो दाज्यू राजको साथीलाई एसएलसीको फर्म भर्ने म्याद सिद्धिन लाग्दा पैसा नभएपछि आफूले लगाएको तिलहरी बन्दकी राखेर फर्म भर्नू भनेर दिनुभएको थियो रे । त्यो दाइले एसएलसी पास गर्नुभयो रे । पछि हामीभन्दा धेरै धनी हुनुभयो । उहाँले त्यो तिलहरी भने फर्काउनुभएन । मेरो आमाको घाँटी हामी ठूलो हुँदासम्म पनि रित्तै थियो । पछि मेरो ठूलो दाज्यू प्रा.डा राजले नौगेडी ल्याइदिनुभयो । त्यो दिन आमा साह्रै खुसी हुनुभयो ।

बाबाले भने एकपल्ट थोरै पिटेको मलाई याद छ । हामी मध्यम परिवारमा हुर्किएका हौँ । हामीसँग अभाव थियो तर बाबाआमा, दाइ दिदी अति नै माया गर्नुहुन्थ्यो । हामीले अरूको बिगार नगर्ने भएर नै होला, हामीलाई पूर्ण स्वतन्त्रता थियो । कसैले हामीलाई कालाले धर्म गरेर पाएका छोराछोरी साह्रै असल छन् पनि भन्थे । आमाको नाम सूर्यकुमारी भए पनि उहाँ कालीकाली हुनभएकोले सबैले उहाँलाई काला भन्थे । उहाँको मन भने सूर्यजस्तै उज्यालो थियो ।

मेरो भाइ डा. दिनेश गजुरेल (क्षेत्री) ले उनको विवाहको पार्टीको दिन खुसी हुँदै मेरो श्रीमान् टेकबहादुरज्यूसँग भने, “भिनाज्यू हामी सानोमा भिन्नु बस्थ्यौँ नि !” त्यतिबेला बुहारी डा. रश्मी थापा पनि सँगै थिइन् । त्यो कुराले म झल्याँस्स भएँ । साँच्चै मैले भिन्नु भएको कुरा त बिर्सिएकी पो रहेछु । बिर्सिसकेको त्यो मीठो अतीत सम्झाउँदा म खुसी भएँ । हामी दिदी भाइ अति नै मिल्थ्यौ । उनी पनि कविता लेख्थे । उनी एकपल्ट अरू स्कुलसँग कविता प्रतियोगितामा भाग लिन जाँदा तेस्रो भएका थिए । बालकार्यक्रममा पनि उनी कविता भन्थे । हामी एकअर्काको लागि मात्र सोच्थ्यौँ । मेरो विवाहपछि भने एउटा दुःखद घटना घट्यो ।

शनिवार बिहानको समय थियो । श्रीमानको साथी छविज्यूले कुमारी हलमा हामी तीन जनालाई फिल्मको टिकट लिएर बस्नुभएको थियो । टुप्लुक्क दिनेश आए । मैले उनलाई हर्लिस दिएर फिल्म हेर्न जाँन्छौँ भनेर गयौँ । मेरो पनि भर्खरै विवाह भएको थियो । श्रीमानले भाइलाई टिकट लिएको कुरा गर्नुभयो होला भन्ने मैले सोचेँ । उहाँले त त्यो कुरा गर्नुभएको रहेन छ । म आएपछि दिदी जानुभयो भन्ने उनलाई भम्र परेछ । उनको कलिलो मन छियाछिया भयो होला । त्यसपछि उनी मसँग अलि टाढिए । मलाई त्यो दिन सम्झिँदा अहिले पनि मुटु छियाछिया हुन्छ । म अति नै माया गर्छु उनलाई । मैले भाइको बारेमा सानो बाल कविता पनि लेखेकी थिए । कविता यस्तो छ–

भाइ

सानो छन् त के भयो
मेरै भाइ ज्ञानी
खेल्दैनन् धूलो–मैलो
राम्रो छ है बानी ।

उठ्छन् सधैँ बिहानीमा
पढ्छन् मुना, कोपिला
साह्रै मन पराउँछन् उनले
कथा ,कविता, चुट्किला ।

कक्षामा उनी पहिला हुन्छन्
कहिले हुन्नन् फेल
खेल्दा पनि कसैसँग
गर्दैनन् नि झेल ।

सबै जना कान्छु भन्छन्
म त भन्छु भाइ
बाबासँग कथा सुन्छौँ
सधैँ सँगै आई ।

सानोमा हामी आमासँग भन्दा पनि बाबासँग सुत्न मन पराउँथ्यौँ । बाबाले मीठा मीठा कथा भनिदिनुहुन्यो । उनी सानो भएर पनि जिद्दी गर्दैनथे । हामी एक रात बाबासँग एक रात आमासँग पालैपालो सुत्थ्यौँ । खानेकुरा पनि हामी बाँडचुँड गरेर खान्थ्यौँ । उनी राम्रो गुच्चा खेलाडी र कित्ता खेलाडी थिए ।

तपाईँहरू कोही संयुक्त परिवारमा बस्नुभएको होला । कोही एकल वा छुट्टै परिवारमा बस्नुभएको होला । दुबै खालका परिवारमा बस्नुका आ आफ्नै फाइदा बेफाइदा छन् । छुिट्टएपछि कोही मान्छेले राम्रो पनि गरिरहेका हुन्छन् । सबै आपैmँले गर्नुपर्छ भनेपछि उनीहरू सङ्घर्ष गर्न थाल्छन् । दाजुभाइभन्दा म कसरी राम्रो बनौँ भन्ने भावना हुन्छ । एक प्रकारको प्रतिस्पर्धा हुन्छ । यसरी अगाडि बढेको मैले धेरै मान्छेहरू देखेकी छु । सँगै बसेर एकअर्कामा मनमुटाउ हुनुभन्दा भिन्नै बसेर राम्रो हुन्छ भने त्यो पनि राम्रै हो । भिन्नु बस्दा आफ्नो इच्छाएको खान लाउन पाइन्छ । स्वतन्त्र होइन्छ । कतिले आफ्नो स्वतन्त्रा र खुसीका लागि आफ्ना वृद्ध बुवाआमालाई वास्तै नगर्ने, वृद्ध आश्रममा राख्ने पनि गर्छन् । कलिला भाइबहिनीहरूलाई वास्तै नगर्ने गर्छन् । त्यो भने पक्कै राम्रो होइन । सबै परिवारसँग बस्दा पनि फाइदा नै हुन्छ । कुनै दुःख पर्दा एकअर्काको सहयोग हुन्छ । साना बच्चा– बच्चीले ठूलोबाट राम्रो कुराहरू सिकेका हुन्छन् । परिवारमा बसेका मान्छेहरूमा सहयोगी भावना हुन्छ जस्तो लाग्छ मलाई ।

अब तपाइँहरूलाई मेरी प्यारी दिज्यू सुस्मिता, प्यारो भाइ दिनेशु र म भिन्नु बसेको कुरा सुनाउँछु । हामी भिन्नु बस्दा यकिन उमेर कति थियो मलाई याद छैन । आठ दश वर्षका थियौँ होला । भिन्नु किन बस्छन् त्यो पनि हामीले बुझेका थिएनौँ । हामीलाई यति मात्र थाहा थियो– भिन्नु बस्नु भनेको छुट्टै पकाएर खानु हो । हामीले छिमेकीहरू धेरै जनाले भिन्नै पकाएर खाएको देखेका थियौँ । सधैँ कोही न कोही भिन्न भए भन्ने पनि सुन्थ्यौँ । त्यही प्रभाव हामीलाई पनि प¥यो । हामी तीन जनाले पनि बाबा आमासँग भिन्नु बस्छु भन्यौँ । बाबाआमाले हाँस्दै ल जे मन लाग्छ गर भन्नुभयो । भुइँ तलामा हाम्रो भान्सा थियो । बुइँगल खाली नै थियो । हामीले बाबाआमासँग सबै खानेकुरा लियौँ । दुई चार दिन कति भिन्नै पकाएर खायौँ ।

उहाँहरू हाम्रो कृयाकलाप देखेर हाँस्नुहुन्थ्यो । कहिल्यै गालि गर्नु भएन । कहिले म र भाइ अरूले पसल राखेको देखेर घरमा नै सानो बाकसमा पसल राख्थ्यौँ । पसलका खानेकुरा बाबाआमालाई नै बेच्थ्यौँ । साँच्चै हामी स्वतन्त्र पक्षी जस्तै थियौँ । बाबाआमा दाइ दिदी अति महान हुनुहुन्थ्यो । यो सिङ्गो नेपालको परिवेशमा त्यति सानो उमेरमा भिन्नै बस्ने भनेका केवल हामी नै थियौँ होला । बुझ्ने भएपछि भने म श्रीमान्को सरुवा भएर जाँदा चारपाँच वर्ष बाहेक कहिल्यै एक्लै बसिन । मेरो विवाह गरेर जाँदा देवर गंगा बाबुसँगै हुनुहुन्थ्यो । चौध वर्ष सँगै बस्यौँ । उहाँको विवाह भएपछि पनि केही वर्ष सँगै बस्यौँ । अहिले पनि उहाँ मलाई छोराजस्तै लाग्छ । उहाँ पनि मलाई आमाजस्तै गर्नुहुन्छ । ससुरा बितेपछि जेठाजु र देवर भिन्नु बस्नुभयो । सासूसँग हामी बस्यौँ । माइतीमा पनि बाबाआमा बितेपछि ठूलो दाज्यू राज र मन भाउज्यूले सबैलाई खुट्टा टेकाएर केही वर्षअगाडि मात्र छुट्टिनुभयो । सानोमा भिन्नु बसेको दिनेशु भने अभैm भिन्नु बसेका छ्रैनन् । उनी सुरेश दाज्यू र उषा भाउज्यूसँगै बस्छन् ।

मैले विवाह गरेको एकदुई महिना नहुँदै भिन्न बसेका धेरै मान्छेहरू देखेकी छु । करिब पैँतीस वर्षसम्म भिन्नु नबस्ने मलाई मेरो माइतीहरू र म जस्तो लाग्थ्यो । जब म वरिष्ठ साहित्यकार वसन्तकुमार शर्मा नेपाल बिरामी हुँदा उहाँको घरमा गएँ । वसन्तकुमार शर्मा नेपालका तीन भाइ छोरा वरिष्ठ साहित्यकार विनयकुमार शर्मा नेपाललगायत तीन दाजुभाइ अभैm पनि भिन्न बस्नुभएको रहेनछ । हजुरबुवा पुस्तादेखि पलाति पुस्तासम्म । उहाँहरूको समर्पण र त्यागलाई देखेर मनमनै सलाम गरेँ । मानिसहरू सबै आफ्नै स्वार्थको लागि बाँच्छन् । अरूको खुसीको लागि बाँच्नेहरूको पनि यहाँ कमी रहेनछ । त्यो देख्दा खुसी लाग्यो । अचम्म पनि ।